चौतारा – वर्षमा दुईपटक फल दिनु, खेती गर्न सजिलो हुनु र सँगसँगै अन्य बाली पनि उत्पादन गर्न सकिने भएपछि सिन्धुपाल्चोकका किसानहरु ड्रागनफ्रुट खेतीतर्फ आकर्षित हुन थालेका छन्।
चौतारा साँगाचोकगढी नगरपालिका–१४, डडुवाका किसान ज्ञानेन्द्र मैनालीले पछिल्ला दुई वर्षदेखि सात रोपनी जमिनमा ड्रागनफ्रुट खेती गर्दै आउनुभएको छ। हाल ती बोटहरूले उत्पादन दिन थालेपछि मैनालीले प्रति किलो ३५० देखि ४०० रूपैयाँको दरले बजारमा बिक्री गरी राम्रो आम्दानी गर्दै आउनुभएको छ।
“परम्परागत बालीको तुलनामा यसबाट राम्रो लाभ भएको छ,” मैनाली भन्छन्, “यो केवल व्यवसाय होइन, भविष्यको दिगो कृषि आधार बन्न सक्छ।” बाँझो जमिनलाई उब्जाउ बनाउने उहाँको प्रयास अहिले गाउँकै लागि प्रेरणा बनेको छ।
यसैगरी, चौतारा छापका सुशील श्रेष्ठले साँगाचोकको पोखरेमा करिब पाँच रोपनी क्षेत्रफलमा ड्रागनफ्रुट खेती गरिरहनुभएको छ। करिब ४०० बिरुवा रोपिएको उनको बगानमा रातो र सेतो दुबै प्रकारका ड्रागनफ्रुट फल्न थालेका छन्। “व्यापारीहरू बगानमै आउँछन्, दुईपटक फल बेचेर वर्षको राम्रो आम्दानी हुन्छ,” श्रेष्ठ बताउछन्।
खेती गर्न सजिलो, सिँचाइ र मलको कम आवश्यकता, साथै उपभोक्तामाझ यसको माग उच्च भएकाले ड्रागनफ्रुट खेतीमा किसानको चासो दिनानुदिन बढिरहेको छ। बजारमा यो फलको मूल्य प्रतिकिलो ६५० देखि ८५० रूपैयाँसम्म पर्न गएको छ।
नेपालमा ड्रागनफ्रुट खेतीको सुरुवात जगनाथ राईले विदेशबाट बिरुवा ल्याएर गरेका थिए। त्यसयता देशका विभिन्न भागमा यसको खेती विस्तार हुँदै आएको छ।
कृषि प्राविधिकहरूका अनुसार सिन्धुपाल्चोकको हावापानी ड्रागनफ्रुट खेतीका लागि अत्यन्त उपयुक्त मानिन्छ। एकपटक रोपेको बिरुवाबाट १५–२० वर्षसम्म उत्पादन लिन सकिने, दोहोरो फसल पाइने र बजारमा स्थायी माग रहने भएकाले यो खेती कृषकका लागि दीर्घकालीन रूपमा लाभदायक हुनसक्ने उनीहरूको भनाइ छ।
ड्रागनफ्रुट खेतीको यस प्रवृत्तिले सिन्धुपाल्चोकमा व्यावसायिक कृषि विस्तारको नयाँ सम्भावना पनि देखाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया