काठमाडौँ – विश्वव्यापी तापक्रम वृद्धिले मानिसको मस्तिष्कमा गम्भीर असर पर्न थालेको वैज्ञानिकहरूले बताएका छन्। पाँच महिनाको जेक नामक बालकमा देखिएको ‘ड्राभेट सिन्ड्रोम’ नामक स्नायुसम्बन्धी रोग गर्मी मौसममा बेहोस हुने समस्या बढाउने प्रमुख कारण बनेको छ। जेककी आमा स्टेफनी स्मिथका अनुसार अत्यधिक तातो र आर्द्रताले बालकको अवस्था झन् जटिल बन्दै गएको छ।
युनिभर्सिटी कलेज लन्डनका स्नायु रोग विशेषज्ञ डा. सञ्जय सिसोदियाले तापक्रम वृद्धिले ‘ड्राभेट सिन्ड्रोम’ लगायतका स्नायुसम्बन्धी रोगहरूलाई थप गम्भीर बनाउन सक्ने बताएका छन्। अनुसन्धानहरूले अत्यधिक गर्मी र उष्ण लहरले छारे रोग, मस्तिष्काघात, माइग्रेन र इन्सेफलाइटिसजस्ता रोगहरूको जोखिम वृद्धि गर्ने पुष्टि गरेका छन्। २००३ र २०२२ को युरोप तथा यूकेमा भएका उष्ण लहरले स्नायुसम्बन्धी समस्याबाट हुने मृत्यु दरमा उल्लेखनीय वृद्धी देखिएको छ।
तातो मौसमले मानिसको मस्तिष्कको कार्यक्षमता प्रभावित गरी व्यवहारमा पनि नकारात्मक प्रभाव पार्ने देखिएको छ। डा. सिसोदियाका अनुसार, “मस्तिष्कको तापक्रम नियमनमा समस्या आएमा सोच्न र निर्णय लिन सक्ने क्षमता कमजोर हुन्छ।” मल्टिपल स्क्लेरोसिस, स्किजोफ्रेनिया जस्ता रोगमा तापक्रम वृद्धिले जोखिम थपिने भएको छ।
यस्तै, उष्ण लहरले रातिको निद्रा प्रभावित गरी मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पुर्याउँछ। वृद्धवृद्धा र सामाजिक रुपमा कमजोर वर्ग बढी प्रभावित हुने जोखिम रहेको छ। इम्पिरियल कलेज लन्डनकी प्रोफेसर जेन हर्स्टले अत्यधिक तापक्रमले गर्भवती महिलामा बच्चाको स्नायु विकासमा असर पुग्न सक्ने बताएकी छन्। समयभन्दा पहिले जन्मिने शिशुहरूको संख्या बढ्नु र न्यूरोडिजेनेरेटिभ रोगहरू बढ्ने खतरा बढिरहेको छ।
बढ्दो तापक्रमले लामखुट्टेको प्रजननलाई बढाएर जिका, चिकुनगुन्या र डेङ्गेजस्ता स्नायुसम्बन्धी रोगहरूको जोखिम पनि वृद्धि गरेको विज्ञहरूले बताएका छन्।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जुलाई २०२३ मा “ग्लोबल वार्मिङको युग सकिएको छ, अब ग्लोबल बोइलिङ अर्थात् उम्लिने युग सुरु भएको छ” भनेका छन्।
वातावरणीय तापक्रम वृद्धिले मानव मस्तिष्कमा पर्ने जोखिमलाई मध्यनजर गर्दै वैज्ञानिक र स्वास्थ्य विज्ञहरूले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया