काठमाडौं- बलिउड अभिनेत्री तथा हाल राजनीतिमा सक्रिय कंगना रनौतले पुनः फिल्म उद्योगको भित्री पक्षबारे मुख खोलेकी छिन्। बिहीबारको एक अन्तर्वार्तामा उनले आफ्नो अनुभव सुनाउँदै, धेरैजसो पुरुष अभिनेताको व्यवहार “असभ्य” हुने दाबी गरिन्।
होस्टले “के तपाईंलाई कहिल्यै हिरोहरूको अनुचित प्रस्ताव वा व्यवहारको सामना गर्नुपर्यो ?” भन्ने प्रश्न सोध्दा उनले भनिन्,
“मैले धेरै हिरोहरूसँग काम नै गरेकी छैन, किनकि धेरैजसो असभ्य हुन्छन्।”
उनले प्रष्ट पार्दै थपिन्,
“यो कुरा मैले यौनजन्य हिसाबले मात्र भनेकी होइन। जस्तै सेटमा ढिलो आउनु, सहकलाकारलाई हेप्नु, साइडलाइन गर्नु, नायिकालाई सानो भ्यान दिनु—यी सबै असभ्य व्यवहार हुन्। यी कारणले धेरै पटक म समस्यामा परें, यहाँसम्म कि मौन बस्न नचाहेकै कारण मविरुद्ध मुद्दा समेत हालियो।”
कंगनाले सन् २००६ मा अनुराग बसु निर्देशित र महेश भट्ट निर्मित ग्याङ्स्टर बाट बलिउड डेब्यू गरेकी थिइन्। त्यसपछि उनले वो लम्हे (२००६), लाइफ इन अ मेट्रो (२००७) लगायत फिल्ममा अभिनय गरिन्। तर उनको करियरको टर्निङ प्वाइन्ट भने माधुर भण्डारकरको फ्यासन (२००८) बन्यो, जसले उनलाई राष्ट्रिय फिल्म पुरस्कार दिलायो।
२०१४ को क्वीन र २०१५ को तनु वेड्स मनु रिटर्न्स सफल फिल्मले उनको लोकप्रियता नयाँ उचाइमा पुर्यायो। हालसम्म उनले चार पटक राष्ट्रिय फिल्म पुरस्कार जितिसकेकी छिन्।
पछिल्लो पटक उनले आफैं लेखन, निर्देशन र सह-निर्माण गरेको इमर्जेन्सी मा अभिनय गरेकी थिइन्। कंगनाका अनुसार, बलिउडमा बाहिरबाट आएका कलाकारका लागि यात्रा सजिलो हुँदैन, तर दृढ अडान र आत्मसम्मानका साथ सफलताको बाटो बनाइन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया