मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व प्लास्टिक सन्धि वार्ता असफल

जेनेभा – प्लास्टिक प्रदूषण नियन्त्रणका लागि ऐतिहासिक विश्वव्यापी सन्धि गर्ने उद्देश्यले भएको वार्ता शुक्रबार असफल भएको छ । एक सय ८५ देशका प्रतिनिधिहरूले लामो छलफल गरे पनि प्लास्टिक सङ्कटलाई कसरी समाधान गर्ने भन्नेमा सहमति हुन सकेन ।

प्लास्टिक उत्पादन घटाउन चाहने मुलुकहरू र केवल फोहोर व्यवस्थापनमा ध्यान केन्द्रित गर्न चाहने तेल उत्पादक राष्ट्रहरूबीच सहमति खोज्ने प्रयास विफल भएको छ । तीन वर्षमा भएको छ चरणको वार्तापछि पनि सम्झौता नभएपछि धेरै देशले निराशा व्यक्त गर्दै आगामी वार्तामा पनि तयार रहने बताएका छन् ।

क्युबाले भन्यो, “हामीले ऐतिहासिक अवसर गुमायौँ, तर यस ग्रह र भावी पुस्ताको लागि तुरुन्तै कार्य गर्नुपर्छ ।” कोलम्बियाले भनेको छ, “सम्झौता नचाहेका थोरै सङ्ख्याका मुलुकहरूले वार्तालाई निरन्तर अवरुद्ध गरेका थिए ।”

प्यासिफिकका १४ साना टापु राष्ट्रहरूको तर्फबाट टुभालुले भन्यो, “हाम्रा टापुहरूका लागि विश्वव्यापी सहयोग र कदमबिनै लाखौँ टन प्लास्टिक फोहोर हाम्रो समुद्रमा पुग्नेछ, जसले हाम्रो वातावरण, खाद्य सुरक्षा, आजीविका र संस्कृतिलाई असर गर्नेछ ।”

युरोपेली सङ्घ (इयु), बेलायत, क्यानाडा र धेरै अफ्रिकी तथा ल्याटिन अमेरिकी देशहरू समावेश भएको उच्च महत्त्वाकांक्षा गठबन्धनले प्लास्टिक उत्पादन घटाउने र विषाक्त रसायन हटाउने व्यवस्था चाहन्थे । तर साउदी अरेबिया, कुवेत, रुस, इरान र मलेसियालगायत तेल उत्पादक राष्ट्रहरूको ‘लाइक–माइन्डेड ग्रुप’ समूहले सन्धिलाई धेरै सङ्कुचित बनाउन चाहन्थ्यो ।

फ्रान्सकी पारिस्थितिक मन्त्री एग्नेस पान्नियर–रुनाचरले भने, “म निराश छु र रिसाएकी छु । केही देशले छोटो अवधिका आर्थिक हितका कारण महत्त्वाकांक्षी सन्धि रोकिदिए ।”

वार्ताको भविष्य स्पष्ट छैन । केही देशले सातौँ चरणको वार्ताका लागि आह्वान गरेका छन् । इयुले पछिल्लो मस्यौदा पुनः वार्ता सुरु गर्नका लागि ‘राम्रो आधार’ भएको बताएको छ ।

विश्वमा हरेक वर्ष ४० करोड टनभन्दा बढी प्लास्टिक उत्पादन हुन्छ र यसको आधा एकल प्रयोगका लागि हुन्छ । यसमध्ये केवल १५ प्रतिशत मात्रै पुनर्चक्रणका लागि सङ्कलन हुन्छ र नौ प्रतिशत मात्र वास्तवमा पुनर्चक्रण हुन्छ । बाँकी ४६ प्रतिशत ल्यान्डफिलमा, १७ प्रतिशत जलाइन्छ र २२ प्रतिशत फोहोरका रूपमा छाडिन्छ ।

प्लास्टिक प्रदूषणको असर उच्च हिमालदेखि गहिरो समुद्रसम्म र मानव शरीरसम्म फैलिएको छ । हालको प्रवृत्तिअनुसार सन् २०६० सम्म जीवाश्म इन्धनबाट बन्ने प्लास्टिक उत्पादन करिब तीन गुणा बढेर एक अर्ब २० करोड टन पुग्नेछ, र फोहोर एक अर्ब टनभन्दा बढी हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?