काठमाडौँ- लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा २० लाखभन्दा बढीपटक हेरिएको छ ।
तीज पर्वको छेको पारेर बुधबार सार्वजनिक भएको उक्त गीतमा १२ हजार बढीले प्रशंसायुक्त टिप्पणी गरेका छन् । तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण गायिका माझीको गीतलाई दर्शकस्रोताले रुचाएका हुन् ।
गत वर्ष पनि उनको तीज गीत ‘आइन आमा यो तीजमा…’ ले सार्वजनिक भएको दुई दिन नबित्दै युट्युबमा ३० लाख बढी ‘भ्यूज’ बटुलेको थियो ।
माझीले विगत दुई दशकयता बर्सेनि तीज गीत सार्वजनिक गर्दै आएकी छन् । कतिपयले त विष्णु माझीको गीत आएपछि बल्ल तीज आएको आभास दिने गरेको टिप्पणीसमेत गर्छन् । तीजमात्र नभएर उनका हरेक लोकदोहोरी गीत सफल छन् ।
सुन्दरमणि अधिकारीको रचना र सङ्गीत रहेको गीत ‘म त नराउरी…’ मा लैङ्गिक असमानताले निम्ताएको नारी बेदनालाई उठान गरिएको छ । गीतमा कुनै बेला नेपाली समाजमा व्याप्त छोरा र छोरीबीचको विभेदको मर्मस्पर्शी कथा छ । गीतले भन्छ–
‘दाइ र भाइले पिपलगेडी खाको
मैले छाम्दा गोजी रित्तै भाको…’
गीतको म्युजिक भिडियोमा ललिता पौडेललगायत कलाकारको अभिनय रहेको छ । विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएकामा गायिका माझीको गीतले भने तीज गीतको मूल मर्मलाई पक्डेको छ । महिलाको संवेदना र मनोविज्ञान गीतमा मुखरित भएको छ । गीतमा मौलिकताको झझल्को छ ।
चर्चित गायक प्रकाश सपुतको रचना र सङ्गीतमा केही दिनअघि युट्युबमा सार्वजनिक तीज गीत ‘नाइँ भनेसी नाइँ…’लाई पनि हालसम्म झण्डै दश लाखपटक हेरिएको छ । गायिका समीक्षा अधिकारी र एलिना चौहानद्वारा स्वरबद्ध उक्त गीतमा पनि महिला अधिकार र सशक्तीकरणको मुद्दा उठाइएको छ । महिलामाथि हुने हिंसा र अत्याचारविरुद्ध सपुतले आफ्नो सृजनालाई केन्द्रित गरेका छन् । गायक सपुतले यसअघि ल्याएको तीज गीत ‘बदला बरिलै…’ र ‘कुरा बुझ्न पर्छ…’ ले पनि चर्चा पाएको थियो ।
गायक पशुपति शर्मा र टीका पुनले गाएको तीज गीत ‘लाइटै बालेर हेर मायाले…’ लाई पनि दर्शक/स्रोताले साथ दिएका छन् । चार साताअघि ‘पशुपति शर्मा’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतलाई हालसम्म १२ लाखभन्दा बढीपटक हेरिएको छ ।
गायक शर्माकै शब्द र सङ्गीतमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा पनि शर्मा र कलाकार कुञ्जना घिमिरेको अभिनय रहेको छ । गीतमा मायाप्रेमको विषय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया