काठमाडौँ – अभिनेता आमिर खानका भाइ फैसल खानले केही समयअघि एक अन्तर्वार्तामा आफूमाथि परिवारद्वारा मानसिक पीडा दिएको गम्भीर आरोप लगाएपछि, खान परिवारले विज्ञप्ति जारी गर्दै ती दावीहरू अस्वीकार गरेको छ।
विज्ञप्तिमा परिवारले फैसललाई सिजोफ्रेनिया (एक प्रकारको मानसिक रोग) भएको उल्लेख गर्दै, चिकित्सा विशेषज्ञहरूको सल्लाहअनुसार मात्रै सबै निर्णयहरू लिइएको स्पष्ट पारेका छन्।
फैसलले सार्वजनिक रूपमा परिवारमाथि लगाएका आरोपप्रति गहिरो दुःख व्यक्त गर्दै, त्यो घटनालाई उनी आफैंले पटक–पटक गलत रूपमा प्रस्तुत गरेको जनाइएको छ।
‘फैसललाई थुनेर राखिएको थिएन’ — परिवारको स्पष्टोक्ति
फैसलले आमिर खान र अन्य परिवारका सदस्यहरूले आफूलाई एक वर्षसम्म कोठामा थुनेर राखेको आरोप लगाए पनि, परिवारको भनाइमा त्यो प्रेम, करुणा र स्वास्थ्यको चिन्ताबाट प्रेरित निर्णय थियो।
विज्ञप्तिमा भनिएको छ, “फैसलको बारेमा सबै निर्णयहरू हामीले चिकित्सा विशेषज्ञहरूसँग परामर्श गरेर, भावनात्मक र मानसिक स्वास्थ्यको हितका लागि मात्रै लिएका हौं।”
परिवारले मिडियालाई यस विषयमा संवेदनशीलता अपनाउन, र व्यक्तिगत मामिलालाई सनसनीपूर्ण रूपमा नउठाउन पनि अपिल गरेको छ।
विज्ञप्तिको अन्त्यमा परिवारका अन्य सदस्यहरू, जस्तै रीना दत्ता, आइरा खान, जुनैद खान, किरण राव, इमरान खानलगायत १५ जनाको नाम उल्लेख गरिएको छ। तर, आमिर खानको नाम चाहिँ सूचिमा समावेश गरिएको छैन, जसले विज्ञप्तिमा आमिरको भूमिकाबारे अलग प्रश्न उठाएको छ।
केही समयअघि फैसलले मिडियासँगको कुराकानीमा आफूलाई जबरजस्ती थुनेको, उपचार गराइएको र करियर नष्ट गरिएको आरोप लगाएका थिए। उनका यी दावीहरूले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया