काठमाडौँ- नेपाली वीरताको कथामा आधारित चलचित्र ‘नालापानी’को विशेष प्रदर्शनी आज काठमाडौँमा सम्पन्न भएको छ।
रिमेश अधिकारीद्वारा निर्देशन तथा निर्माण गरिएको यस चलचित्रको प्रदर्शन प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको हलमा गरिएको हो। विशेष प्रदर्शनीमा सङ्घीय संसद्का सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वसभामुख अग्नि सापकोटा, सांसदहरू, कलाकार र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।
चलचित्रपछि प्रतिक्रिया दिँदै सभामुख घिमिरेले ‘नालापानी’ले इतिहासलाई जीवन्त तरिकाले प्रस्तुत गरेको उल्लेख गर्दै त्यो समयको राष्ट्र, राष्ट्रियता र मातृभूमिप्रतिको योगदान गहिरो रूपमा महसुस गर्न सकिने बताए। “यो चलचित्रले राष्ट्रप्रेमको कथा बोलेको छ, जसले कुनै पनि नेपालीको हृदय छुनेछ,” उनले भने।
राष्ट्रियसभाका अध्यक्ष दाहालले पनि इतिहास र पहिचानसँग जोडिएका यस्ता विषयवस्तुले राष्ट्रप्रेमको भावना बलियो बनाउने बताए। उनले यस्ता चलचित्रको विकासका लागि सरकार, सर्जक र सम्पूर्ण पक्षको ध्यान जान आवश्यक रहेको उल्लेख गरे।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘नालापानी’ले राष्ट्रप्रेमलाई झकझक्याउने काम गरेको बताए। “यो विशेषतः विद्यार्थीहरूलाई इतिहास बुझाउन उपयोगी हुनेछ,” उनले भने। अभिनेता जितु नेपालले चलचित्रलाई नेपाली इतिहासको गौरव प्रस्तुत गर्ने उत्कृष्ट प्रयास भन्दै सबैले हेर्नुपर्ने फिल्मको रूपमा व्याख्या गरे।
निर्देशक अधिकारीका अनुसार ‘नालापानी’ केवल ऐतिहासिक घटनाको पुनर्निर्माण मात्र नभई राष्ट्रप्रेम, सहादत र एकताको सशक्त सन्देश बोकेको श्रव्यदृश्य अभिव्यक्ति हो। यसमा महिला, बालबालिका र समाजको सामूहिक प्रतिरोधलाई पनि कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
विशेष प्रदर्शनीमा सहभागी दर्शकहरूले चलचित्रको विषयवस्तु, निर्देशन, छायांकन र कलाकारको अभिनयको प्रशंसा गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया