काठमाडौं- लोकप्रिय टेलिभिजन हास्यश्रृंखला ‘मेरी बास्सै’मा कलाकार राजु पौडेल ‘राजु मास्टर’ नयाँ भूमिकासहित फर्किएका छन्।
करिब दुई दशक लामो यात्रामा रहेका यस श्रृंखलामा उनले यसपटक अभिनयसँगै लेखन र निर्देशनको जिम्मेवारी पनि लिने भएका छन्।
मिडिया हबको प्रस्तुति रहेको ‘मेरी बास्सै’ हाल १९औं वर्षमा प्रवेश गरिसकेको छ। राजुले यही श्रृंखलाबाट कलाकारितामा डेब्यु गरेका थिए र प्रारम्भिक १२ वर्ष निरन्तर अभिनय गरेका थिए। त्यसपछि करिब ६ वर्ष अन्य टेलिभिजन कार्यक्रमहरूमा सक्रिय रहँदै, उनी फेरि आफ्नो ‘घर’ मान्ने ‘मेरी बास्सै’मा फर्किएका हुन्।
‘यो मेरो लागि घर फर्किएको जस्तो हो, खुसीसँगै जिम्मेवारी पनि बढेको छ,’ राजुले भने। उनका अनुसार हालसम्म चार भागको छायांकन सम्पन्न भइसकेको छ र आगामी कथाहरू नयाँ मोडसहित अघि बढ्नेछन्।
राजु मास्टर हाल ‘सकस’ नामक टेलिसिरियलमा पनि लेखन, निर्देशन, अभिनय र निर्माणमा संलग्न छन्, जसलाई निरन्तरता दिने योजना छ।
‘मेरी बास्सै’को ९२३औं भागदेखि राजुले लेखन र निर्देशन सम्हाल्नेछन्। कार्यक्रमको छायांकन धादिङको ज्वालामुखी गाउँपालिका–५, खरी भदुवार क्षेत्रमा भइरहेको छ।
श्रृंखलामा अनिता बस्नेत (मास्टर्नी), सविना आचार्य ‘सबु’ (साली), रामचन्द्र अधिकारी (काजी बा), सुरवीर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी), निरु खड्का (निर्मली), दीपेन्द्र तिमल्सिना (बालक), साया भण्डारी (राधिका), मुकेश हमाल (सुन्दरे), यादव थापा (ब्याज प्रसाद) लगायत कलाकारको अभिनय रहनेछ।
‘मेरी बास्सै’ हरेक मंगलबार साँझ नेपाल टेलिभिजन र मिडिया हबको युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया