काठमाडौं- हाम्रो दैनन्दिन जीवनशैली र खानपानको गलत बानीका कारण पेटसम्बन्धी समस्याहरू आम बनिरहेका छन्। तीमध्ये सबैभन्दा सामान्य र धेरैलाई सताउने समस्या हो अपच। अपचले दैनिक जीवनमा असहजता मात्रै होइन, दीर्घकालीन स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ।
अपच भनेको के हो ?
अपचलाई चिकित्सकीय भाषामा डिस्पेप्सिया भनिन्छ। सामान्यतया पेटमा गारो हुनु, भारी महसुस हुनु, डकार आउने, पेट फुल्ने, जलन वा छातीमा पोल्ने समस्या देखिनु अपचका संकेत हुन्। कहिलेकाहीं वाकवाकी लाग्ने, भोक नलाग्ने, थकान महसुस हुनेजस्ता लक्षणहरू पनि देखिन्छन्।
अपच हुने ६ प्रमुख कारणहरू:
१. अनियमित खानपान
समयमै नखाने, अत्यधिक खानु, छिटोछिटो खाने, राति ढिलो खाना खानुजस्ता बानीहरूले पाचन प्रक्रियामा अवरोध पुग्छ र अपचको समस्या सुरु हुन्छ।
२. चिल्लो, पिरो र मसलेदार खाना
अत्यधिक तारेको, चिल्लो, मसलेदार वा झोलिलो खाना पचाउन शरीरलाई समय लाग्छ। यस्ता खानेकुरा बारम्बार सेवन गरेमा पेटमा अम्लता (एसिडिटी) बढेर अपच हुन्छ।
३. तनाव र मानसिक अशान्ति
मानसिक तनावले शरीरमा हर्मोनको असन्तुलन ल्याउँछ, जसको असर पाचन प्रणालीमा पर्छ। लामो समयको तनावले अपच, अल्सर र ग्यास्ट्राइटिस जस्ता समस्या निम्त्याउन सक्छ।
४. शारीरिक निष्क्रियता
खाना खाएपछि तुरुन्तै सुत्नु, कम हिँडडुल गर्नु वा लामो समय बसिरहनुले पाचन प्रणाली कमजोर बनाउँछ। शारीरिक गतिविधिको कमीले अपचलाई बल मिल्छ।
५. धुम्रपान र मद्यपान
धुम्रपान तथा मद्यपानले पेटको भित्री भागको झिल्लीलाई क्षति पुर्याउँछ, जसले गर्दा अम्लता बढ्छ र अपच निम्तिन्छ। दीर्घकालीन मद्यपान अपचको प्रमुख कारक हो।
६. औषधिको दुरुपयोग
बिना चिकित्सकको सल्लाह लगातार पेनकिलर, एन्टिबायोटिक वा अन्य औषधि सेवन गर्दा पाचन प्रणालीमा असर पुग्छ। यस्ता औषधिले पेटको अम्लता बढाएर अपच गराउँछ।
अपचको लक्षणहरू:
पेट गारो र फुल्ने अनुभव
डकार आउने र ग्यास जम्ने
छाती पोल्ने वा जलन
वाकवाकी लाग्ने वा भोक नलाग्ने
थकान र असजिलो महसुस
कहिलेकाहीं दिसा गन्हाउने वा अनियमित
अपचबाट बच्न यस्ता उपायहरू अपनाउनुहोस्:
समयमै खाना खानुहोस् र धैर्यपूर्वक चपाएर मात्र खानुहोस्।
पच्न गाह्रो हुने खाना कम गर्नुस् — बढी तारेका, चिल्लो, चकलेट, चाउचाउ आदिलाई टाढा राख्नुहोस्।
खाना खाएपछि तुरुन्त नसुत्ने, १५–३० मिनेट हिँडडुल गर्ने।
धेरै तनावमा नपर्ने, योग वा ध्यान अभ्यास गर्ने।
पानी प्रशस्त पिउने, विशेषगरी बिहानको समयमा।
नियमित व्यायाम गर्ने र पेटको व्यायामलाई प्राथमिकता दिने।
अपच बारम्बार हुने हो भने चिकित्सकको सल्लाहअनुसार परीक्षण गराउने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया