काठमाडौँ – तृप्ति डिमरी र सिद्धान्त चतुर्वेदी अभिनीत चलचित्र ‘धडक २’ बक्स अफिसमा खास प्रभाव जमाउन असफल भएको छ। करिब ४५ करोड रुपैयाँको बजेटमा निर्माण गरिएको यो फिल्मले रिलिजको पाँच दिनमा मात्र १४.३५ करोड रुपैयाँको कारोबार गर्न सकेको छ।
फिल्मले राम्रो स्टारकास्ट र गम्भीर सामाजिक विषयवस्तु लिएर आए पनि, दर्शकहरूमाझ त्यसले अपेक्षित छाप छोड्न सकेन। कथावस्तुको केही समीक्षकले प्रशंसा गरे तापनि, व्यवसायिक दृष्टिकोणले फिल्म कमजोर देखिएको छ।
फिल्मले पहिलो दिन ३.५ करोड रुपैयाँ संकलन गरेर सुरुवात गरेको थियो। दोस्रो दिन ३.७५ करोड, तेस्रो दिन ४.१५ करोड, चौथो दिनमा घटेर १.३५ करोड, र पाँचौं दिन मंगलबार १.६० करोड रुपैयाँ कमाएको छ। सिनेमाको कलेक्सन क्रमशः घट्दै गएको देखिन्छ।
‘धडक २’ सँगै प्रदर्शनमा आएका ‘सैयारा’, ‘सन अफ सरदार २’ र ‘महावतार नरसिंह’ जस्ता फिल्महरूले यसलाई दर्शक तान्नमा कमजोर बनाएका छन्।
विशेषतः सैयाराको रोमान्टिक कथावस्तु र स्टार केमेस्ट्रीको क्रेजका कारण ‘धडक २’ पछाडि परेको देखिएको छ। फिल्मको कुल बजेट ४५ करोड रुपैयाँ रहेको जनाइएको छ, जसमा ३५ करोड निर्माण र १० करोड मार्केटिङ तथा प्रमोशनमा खर्च भएको हो।
हालको कलेक्सनको दर हेर्दा फिल्मले आफ्नो लागत उठाउन कठिन हुने संकेत देखिएको छ। ‘धडक २’ लाई २०१८ मा रिलिज भएको ‘धडक’ को आध्यात्मिक सिक्वेलको रूपमा लिइएको छ।
शाजिया इकबालद्वारा निर्देशित र करण जोहरको धर्मा प्रोडक्सनद्वारा निर्मित यो फिल्ममा अन्तर्जातीय प्रेम, सामाजिक दबाब, र वर्गीय विभेदजस्ता विषय उठाइएको छ। ‘धडक २’ सशक्त कलाकार, गम्भीर विषयवस्तु, र ठुलो बजेटको बावजूद बक्स अफिसमा आफ्नो छवि बनाउन असफल भएको छ।
फिल्मले अझ केही दिन प्रदर्शन जारी राख्ने भए पनि हालसम्मको व्यापार हेर्दा यो चलचित्रले आफ्नो लगानी असुल गर्न सक्ने सम्भावना न्यून देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया