काठमाडौँ- ‘केजिएफ’ र ‘कान्तारा’जस्ता हिट चलचित्र बनाएर चर्चा कमाएको होम्बाले फिल्म्सले यसपटक एनिमेसनमार्फत पौराणिक कथा दर्शकमाझ ल्याउने प्रयास गरेको छ।
अश्विन कुमारको निर्देशनमा बनेको एनिमेटेड चलचित्र ‘महाअवतार नरसिंह’ भगवान् विष्णुको नरसिंह अवतार र राक्षस हिरण्यकशिपुबीचको द्वन्द्वमा आधारित छ।
चलचित्रले विष्णुपुराणमा आधारित कथालाई जीवन्त बनाउने प्रयास गरेको छ। हिरण्यकशिपुले भगवान् बन्ने दाबी गरेपछि आफ्नै छोरा प्रह्लादको विश्वास र भक्ति सँगको द्वन्द्व उत्कर्षमा पुग्छ। अन्ततः भगवान् विष्णु आधा मानव र आधा सिंहको रूप, नरसिंह अवतारमा अवतरित भई हिरण्यकशिपुलाई परास्त गर्छन्।
यद्यपि एनिमेसन चलचित्र भए पनि पौराणिक कथामा कुनै छेडछाड गरिएको छैन। चलचित्रको सुरुवात सामान्य शैलीमा भए पनि कथावाचनको क्रमसँगै दृश्य तथा एनिमेसनको गुणस्तरमा सुधार देखिन्छ। विशेषगरी चलचित्रको दोस्रो भागमा प्रह्लाद र हिरण्यकशिपुबीचको टकराव र नरसिंह अवतारको अवतरणलाई निकै प्रभावशाली रूपमा प्रस्तुत गरिएको छ।
यस चलचित्रले भक्ति, आस्था र अच्छाइको विजयलाई भावनात्मक रुपमा प्रस्तुत गर्दछ। यद्यपि केही गीत तथा नाटकीय दृश्य लम्बिएको अनुभव हुन सक्छ। साथै, आवाजको डबिङ र लिप–सिङ्किङमा कमजोरी देखिए पनि कथा, दृश्य र प्रस्तुति सशक्त देखिन्छ।
२ घण्टा २१ मिनेट लामो यो चलचित्र आधुनिक भारतीय एनिमेसन क्षेत्रमा एक प्रेरणादायी योगदान बन्ने सम्भावना बोकेको छ। ‘महाअवतार नरसिंह’ केवल एक धार्मिक कथा नभई, दर्शकका लागि भक्ति र भावनाको यात्रा पनि हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया