काठमाडौं- चर्चित अभिनेता सौगात मल्ल अब निर्देशक कृषा चौलागाईं निर्देशित बहुप्रतीक्षित फिल्म ‘जहाजैमा’ मा देखिने छैनन्।
केही समयअघि यो फिल्ममा अनुबन्धित भएको खबरले उनका फ्यानहरू उत्साहित बनेका थिए। तर अहिले उनी फिल्मबाट अलगिएको खबर सार्वजनिक भएको छ, जसले फ्यानहरूलाई निराश बनाएको छ।
सूचना अनुसार, अभिनेता मल्लले फिल्मबाट बाहिरिने मात्र होइन, उनले लिएको एड्भान्स रकमसमेत फिर्ता गरेका छन्। कारण भने शारीरिक अवस्था र तयारीका लागि आवश्यक समय अभाव भएको जनाइएको छ।
विश्वसनीय स्रोतका अनुसार, अभिनेता मल्लको खुट्टामा समस्या देखिएको र उनले अप्रेशन गराउनु पर्ने भएकाले तीन हप्ता आराम गर्नु पर्ने चिकित्सकीय सल्लाह छ। यता, फिल्म निर्माण टिमले छिटो सुटिङ थाल्ने तयारी गरिरहेकाले समय तालिका मिल्न नसकेर मल्लले परियोजनाबाट अलग हुने निर्णय गरेका हुन्।
सधैँ पात्रमा डुबेर अभिनय गर्ने सौगात मल्लका लागि कुनै पनि फिल्ममा काम गर्नु अघि गहिरो तयारी गर्ने बानी छ। तर, ‘जहाजैमा’को तत्काल सुटिङ तालिकाले उनलाई आवश्यक समय दिन नसक्ने भएपछि फिल्म छोड्नु परेको नजिकको स्रोतले जनाएको छ।
फिल्म ‘जहाजैमा’ का निर्माण टिमले भने हालसम्म औपचारिक रूपमा यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया