काठमाडौं- आउँदो साउन २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘मोहर’ अहिले प्रचारप्रसारको चरम चरणमा पुगेको छ। चलचित्रका मुख्य अभिनेता पल शाह देशका विभिन्न सहर–सहरमा पुगेर दर्शकमाझ फिल्मको प्रचारमा सक्रिय छन्।
हालै उनी चितवन पुगेका थिए, जहाँ उनले म्याङ्गो हल लगायतका कार्यक्रमहरूमा सहभागिता जनाउँदै दर्शकसँग प्रत्यक्ष भेटघाट गरे। पर्सामा आयोजित एक कार्यक्रममा त पल शाहले दर्शकहरूसँगै गीतमा नाचे र प्रत्यक्ष संवाद गरे।
चलचित्रका गायक थानेश्वर गौतम समेत पलसँगै प्रचारमा सहभागी हुँदै दर्शकहरूलाई ‘मोहर’ हेर्न आह्वान गर्दैछन्। चितवनका दर्शकहरूले फिल्मको ट्रेलर र गीतमार्फत सकारात्मक प्रतिक्रिया दिएका छन्।
चितवनको कार्यक्रममा अभिनेता पल शाहले दर्शकहरूसँग ‘मोहर सफलताको केक’ पनि काटे। त्यसपछि प्रचार टोली पोखरा प्रस्थान गर्ने तयारीमा छ, जहाँ पनि दर्शकमाझ गीत–संगीत र संवादको कार्यक्रम तय गरिएको छ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको ‘मोहर’ फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा निर्माण भएको हो। फिल्मका निर्माता चुम्बन जंग शाही हुन्। चलचित्रमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, र रविन्द्र झा लगायतको अभिनय रहेको छ।
‘देउकी प्रथा’लाई मुख्य कथावस्तु बनाइएको यो चलचित्रले पीजी सर्टिफिकेट प्राप्त गरेको छ, जसअनुसार १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन्।
ट्रेलर, गीत र पोस्टरले दर्शकमाझ राम्रो छवि बनाइसकेकाले ‘मोहर’ले बक्स अफिसमा उत्साहजनक सुरुआत गर्ने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया