मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लगातारको वर्षाले महोत्तरीका किसानमा आशा

महोत्तरी- लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा आशा पलाएको छ। गएको बिहीबार, सोमबार र विशेषगरी गए राति परेको पानीले रोपाइँ जोगिने आशा बढेको हो।

‘अब रोपो मर्दैन। रोपिएको खेतका चिरा पुरिएका छन् र रोपो सप्रिएको छ,’ भङ्गाहा-३ कटैयाका किसान विजय यादवले भने, ‘पछिल्ला केही दिनको वर्षाले ठूलो राहत मिलेको छ।’

यो वर्षाले थप रोपाइँ हुन नसके पनि यसअघि रोपिएको धानलाई भने ठूलो राहत मिलेको किसानको भनाइ छ। बर्दिबास-७ प्रेमनगरका किसान रामउद्गार महतोका अनुसार प्रचण्ड गर्मीले पहेँलिँदै गएको रोपो पानी परेपछि सप्रिएको छ।

‘खेत हिल्याउने गरी पानी नपरे पनि लगातारको वर्षाले ठूलो राहत दियो,’ महतोले भने, ‘यो पानी धानका लागि मात्र नभई खडेरीले सुक्दै गएको उखु, कोदो, मकै र तरकारीबालीका लागि अमृत बर्सेजस्तै भयो।’

भङ्गाहा-४ रामनगरका ७५ वर्षीय किसान इस्लाम राइन पनि वर्षाले धानसँगै उखु, मकै, कोदो र तरकारी बालीलाई राहत पुगेको बताउँछन्।

‘लामो खडेरीले उखुका टुप्पा सुकिसकेका थिए, पानी परेपछि जादुजस्तै गरी सप्रिन थालेका छन्’, उनले भने। उनका अनुसार धानबाहेकका बालीलाई तत्कालका लागि चिस्यान पर्याप्त भए पनि धानका लागि भने खेतमा पानी जम्ने गरी वर्षा हुनुपर्ने देखिन्छ।

जिल्लाको कुल ४२ हजार ५०० हेक्टर धानखेती योग्य जमिनमध्ये साउन तेस्रो सातासम्म करिब ३५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र, महोत्तरीले जनाएको छ।

केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादवले थप रोपाइँका लागि पर्याप्त पानी नपरे पनि हालको वर्षाले रोपिसकेको धानलाई भने निकै राहत पुगेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?