काठमाडौं- नेपाली मौलिकता, परम्परा र सांस्कृतिक चेतनालाई केन्द्रमा राख्दै नयाँ नेपाली सिनेमा ‘रत्यौली’ को औपचारिक घोषणा गरिएको छ।
विवाह संस्कारमा महिलाहरूले मात्र गाउने परम्परागत गीत ‘रत्यौली’ बाट प्रेरणा लिँदै सिनेमा निर्माण गर्न लागिएको हो। यो चलचित्रबाट रञ्जन रिजाल निर्माता रूपमा डेब्यु गर्न लागेका हुन्।
२०६२/६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रहँदै सयौं भिडियोमा अभिनय गरेका रिजालले अहिले फिल्म निर्माणको यात्रामा पाइला चालेका हुन्।
चलचित्रको निर्देशन मुस्कान ढकाल ले गर्नेछन्। ‘नाइँ नभन्नु ल ३’ र ‘समर लभ’ निर्देशन गरिसकेका ढकालले यस पटक सांस्कृतिक र पारिवारिक कथावस्तुमा आधारित फिल्म निर्देशन गर्दैछन्।
नाइट एंगल इन्टरटेनमेन्ट को ब्यानरमा निर्माण हुने फिल्ममा नोयन्द्र धिताल, विजय कुमार पाठक र निर्देशक ढकाल स्वयंको समेत लगानी रहनेछ। सिनेमा तिहारपछि छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ।
टाइटल आज (साउन १६) सार्वजनिक गरिएको हो। हाल मुख्य कलाकारको छनोट, प्राविधिक टोलीको गठन र लोकेशन स्काउटिङको कार्य अघि बढिरहेको छ।
निर्माता श्रृसाक रञ्जन रिजाल भन्छन्, “नेपाली दर्शकले मौलिक परिवेश, भाषा र संस्कृतिमा आधारित कथाहरूलाई रुचाउने गर्छन्। त्यसैलाई ध्यानमा राख्दै हामीले ‘रत्यौली’ तयार गरेका हौं।”
निर्देशक ढकालका अनुसार फिल्मले नेपाली सांस्कृतिक भाव र आधुनिक मनोरञ्जनबीच सन्तुलन कायम राख्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया