काठमाडौँ- लोकप्रिय गायक अनिल सिंहले केही दिनअघि सार्वजनिक गरेको आत्महत्या गर्नेसम्बन्धी भिडियो हटाएका छन्। साथै उनले आफ्ना श्रोता, दर्शक र शुभचिन्तकमाझ माफी मागेका छन्।
सामाजिक सञ्जालमार्फत एक पोस्ट सार्वजनिक गर्दै उनले ती अभिव्यक्तिहरू आवेश, मानसिक तनाव र निराशाका क्षणिक प्रतिक्रिया भएको स्पष्ट पारेका छन्।
अनिलले लेखेका छन्, “यो विवादका दौरान मैले अत्यन्तै भावुक अवस्थामा केही अभिव्यक्तिहरू गरेँ, जसमा आत्महत्या गर्नेसम्मको कुरा उठेको थियो। त्यो मेरो मानसिक तनाव, पीडा र निराशाको क्षणिक अभिव्यक्ति थियो। म यस्ता अभिव्यक्तिका लागि मेरो सम्पूर्ण दर्शक, श्रोता र शुभचिन्तकमाझ गहिरो माफी माग्दछु।”
उनको आत्महत्या सम्बन्धी अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो। हाल उनले उक्त भिडियो हटाउँदै आत्मसमीक्षा गरेका छन्।
सिंहले हालै आफ्ना २२ वटा गीतको डिजिटल अधिकार फिर्ता पाएका थिए, जसपछि केही विवाद उत्पन्न भएको थियो। उनले आफ्ना शब्द र भावनालाई गलत ढंगले प्रस्तुत गरेको महसुस भएको बताउँदै भविष्यमा यस्ता विषयमा जिम्मेवार बन्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
यस घटनाले सामाजिक सञ्जालमा कलाकारहरूको मानसिक स्वास्थ्यप्रति चासो थपिएको छ। शुभचिन्तकहरूले उनलाई सकारात्मक सोच र बलियो बन्ने आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया