काठमाडौँ – अन्तर्राष्ट्रिय पपस्टार केटी पेरी र क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोबीच डिनर भेटघाट भएको समाचार सार्वजनिक भएपछि उनीहरूबीच केही ‘विशेष कुरा’ चलिरहेको अनुमान गर्न थालिएको छ।
मंगलबार साँझ मोन्ट्रियलको ले प्लेटु क्षेत्रमा रहेको प्रख्यात रेस्टुरेन्ट ‘ले भियोलोन’मा यी दुई एकसाथ खाना खाँदै गरेको देखिएको अमेरिकी म्यागजिन पिपुल ले जनाएको छ। ४० वर्षीया पेरी र ५३ वर्षीय ट्रुडोबीचको यो डिनरले चर्चाको बजार तताएको छ।
रेस्टुरेन्टमा उनीहरूले लबस्टरसहितका परिकार तथा ककटेलको मज्जा लिएको बताइएको छ। डिनरकै क्रममा उनीहरूले त्यहाँका चर्चित शेफ ड्यानी स्माइल्ससँग भेट गरेका थिए भने खाना सकेपछि रेस्टुरेन्टको भान्सामा पुगेर कर्मचारीलाई व्यक्तिगत रूपमा धन्यवाद दिएका थिए।
केटी पेरीले हालै मात्र ४८ वर्षीय अभिनेता ओर्लान्डो ब्लुमसँगको सम्बन्ध अन्त्य गरेकी थिइन् भने ट्रुडोले पनि ५० वर्षीया पत्नी सोफी ग्रेगोइरसँग १८ वर्षको वैवाहिक सम्बन्ध टुंग्याएका थिए। उनीहरूले सन् २०२३ को अगस्टमा सम्बन्धविच्छेदको घोषणा गरेका थिए।
हालसम्म ट्रुडो वा पेरी दुवैले सार्वजनिक रूपमा भेटघाटबारे केही नबोले पनि उनीहरूबीचको सम्बन्धबारे चर्चा चुलिँदै गएको छ। कतिपयले यो भेटघाटलाई सामान्य साथीभित्रको कुरा मानिरहेका छन् भने केहीले सम्भावित नयाँ सम्बन्धको सुरुवातका रूपमा हेर्न थालेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया