काठमाडौं- पछिल्ला केही वर्षयता नेपालमा पनि ट्याटुको क्रेज तीव्र रूपमा बढ्दै गएको छ। अब ट्याटु केवल फेसन वा सांस्कृतिक चिन्ह मात्र नभई व्यक्तिगत पहिचान, भावना वा स्मृतिको प्रतीकका रूपमा प्रयोग हुन थालेको छ।
मानिसहरूले शरीरका विभिन्न भागमा ट्याटु बनाउन थालेका छन्, तर सबैभन्दा संवेदनशील र जटिल स्थानमध्ये एक हो गर्दन।
गर्दनमा ट्याटु बनाउनु फेसनका हिसाबले आकर्षक देखिए पनि यसको स्वास्थ्य सम्बन्धी जोखिम गम्भीर हुन सक्छ। यस क्षेत्रमा छालाको संरचना, नसाको जालो, स्नायुतन्त्रमाथि पर्ने प्रभावजस्ता कुरा ध्यानमा राख्दा यसमा ट्याटु बनाउँदा बढी सावधानी अपनाउनु जरुरी हुन्छ।
गर्दनमा ट्याटु बनाउँदा देखिने सम्भावित जोखिमहरू
१. स्नायु र रक्तनलीमा क्षति हुने खतरा
गर्दनमा धेरैजसो महत्त्वपूर्ण रक्तनलीहरू (जस्तै Carotid artery) र स्नायुतन्तुहरू नजिकै हुन्छन्। यदि ट्याटु बनाउने क्रममा अत्यधिक दबाब वा सुइँको गहिरो छेदन भयो भने स्नायु प्रणालीमा असर पर्न सक्छ। यसले टाउको दुखाइ, चक्कर, थकान वा तातो–चिसो अनुभूति गुम्ने अवस्था ल्याउन सक्छ।
२. संक्रमणको खतरा
गर्दन खुल्ला अंग भएकाले बाह्य धुलो, धुवाँ र जीवाणुको सम्पर्कमा छ। ट्याटु बनाउँदा यदि सरसफाइको ध्यान नदिइयो भने संक्रमण फैलिन सक्छ। संक्रमणले गर्दा छालामा सुजन, रातोपन, र घाउ हुने सम्भावना हुन्छ। गम्भीर अवस्थामा सेप्टिसेमिया (रगतमा संक्रमण) हुने खतरा समेत हुन्छ।
३. एलर्जी र छालाको प्रतिक्रिया
प्रयोग गरिने ट्याटु इंक (मसी) मा हुने रासायनिक तत्वप्रति केही व्यक्तिहरू एलर्जिक हुन सक्छन्। यसले गर्दा छालामा रातो डल्ला, चिलाउने, पिलपिले घाउ वा फोका आउन सक्छ।
४. दिर्घकालीन प्रभाव र पछुतो
गर्दन जस्तो दृश्य स्थानमा ट्याटु बनाउनु भावनात्मक निर्णय भए पनि भविष्यमा व्यक्तिगत, सामाजिक वा पेशागत जीवनमा असर पुर्याउन सक्छ।
कतिपय रोजगारदाता, सरकारी निकाय वा सुरक्षा निकायमा ट्याटु भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक छैन।
५. दर्दको स्तर उच्च हुने
गर्दनमा छालाको मोटाई कम हुने, हाड र नसाहरू नजिक हुने भएकाले यो क्षेत्रमा ट्याटु गर्दा अत्यधिक दुख्ने गर्छ। कतिपयले सहन सक्दैनन्, जसले गर्दा ट्याटु अधुरै छोड्नुपर्ने अवस्था आउन सक्छ।
ट्याटु बनाउने बेलामा अपनाउनुपर्ने सावधानीहरू
- अनुभवी र प्रमाणित ट्याटु आर्टिस्ट बाट मात्र ट्याटु बनाउनुपर्छ।
- प्रयोग हुने उपकरणहरू स्टेरिलाइज गरिएको हुनुपर्छ।
- ट्याटु बनाउँदा र पछिको ह्याजिन (सरसफाइ) मा विशेष ध्यान दिनुपर्छ।
- शरीरमा कुनै एलर्जी वा छालासम्बन्धी रोग भएमा पहिले चिकित्सकसँग सल्लाह लिनु आवश्यक हुन्छ।
- ट्याटु बनाइसकेपछि चिकित्सकीय एण्टीसेप्टिक क्रिम प्रयोग गर्नु उपयुक्त हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया