काठमाडौं। आगामी साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘सिटामोल’ कर्णाली क्षेत्रको सामाजिक तथा आर्थिक यथार्थमा आधारित छ। निर्देशक राजबहादुर साने निर्देशित यस सिनेमामा सौगात मल्ल र बेनिशा हमालको प्रमुख भूमिका रहेको छ।
निर्देशक सानेका अनुसार फिल्मले कर्णालीको गरिबीलाई बेच्न खोजेको नभई समस्याको समाधान खोज्ने उद्देश्य बोकेको छ। “हामीले गरिबीलाई प्रोडक्ट बनाएर बेच्न खोजेका होइनौं,” उनले भने, “बरु त्यहाँका यथार्थ उजागर गर्दै जनचेतना फैलाउने प्रयास गरेका हौं।”
जुम्लामा जन्मिएका सानेले बाल्यकालमा भोगेका पीडा र भोगाइलाई चलचित्रको कथामा ढालेका छन्। उनले भने, “तेस्रो पुस्तासम्मको पीडा देखेको छु, सहेको छु — त्यही अनुभूतिहरूबाट यो फिल्म बनेको हो।”
उनका अनुसार कर्णाली क्षेत्रमा पूर्वाधार विस्तार भए पनि विकटता अझै अन्त्य भएको छैन। “पहिले नुन ल्याउन भेडा चराउनुपर्ने अवस्था थियो,” साने सम्झन्छन्, “आज केही बाटो बनेका छन्, कृषि प्रणालीमा परिवर्तन भएको छ, तर कर्णाली अझै विकासको मूलधारबाट टाढै छ।”
फिल्मको कथा जनयुद्धपछिको सामाजिक र आर्थिक परिवर्तन, विशेष गरी जनसेनाको समायोजनपछि देखिएका संघर्षहरूमाथि केन्द्रित छ। जनयुद्धपछि विस्थापित भएका धेरै परिवारहरूको पुनःस्थापनामा देखिएको कठिनाइलाई कथावस्तुको रूपमा प्रस्तुत गरिएको छ।
फिल्ममा सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल लगायत कलाकारहरूको अभिनय छ। बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी पनि सिनेमामा देखिने छन्। श्रीकृष्ण निरौला र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्म्सको सहकार्यमा निर्माण गरेको ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक सानेले संयुक्त रूपमा लेखेका हुन्। फिल्मको प्रस्तुती सिमोस सुनुवारले गरेका छन् भने भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता छन्। अप्सरा नेपाली, अजय मल्ल, कुमार केसी कार्यकारी निर्माता र गंगाराम श्रेष्ठ सह-निर्माताको भूमिकामा छन्।
‘सिटामोल’ले मनोरञ्जनसँगै चेतना र यथार्थ पनि दर्शकमा पुर्याउने अपेक्षा लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया