मुम्बई- बलिउड अभिनेत्री तनुश्री दत्ताले आफूमाथि ज्यान मार्ने धम्की आएको दाबी गर्दै सुरक्षा माग गरेकी छन्। मंगलबार आफ्ना अघिल्ला यौन शोषण र मानसिक उत्पीडनका घटनाबारे सार्वजनिक रूपमा बोलेपछि बुधबार राति उनलाई अज्ञात व्यक्तिबाट धम्की आएको हो।
अभिनेत्रीले केही दिनअघि एक भिडियो सन्देशमार्फत आफूलाई निर्देशक विवेक अग्निहोत्रीले छायांकनका क्रममा मानसिक रूपमा सताएको र सन् २०१८ मा अभिनेता नाना पाटेकरको चलचित्रमा काम गर्दा यौन शोषणको प्रयास भएको खुलासा गरेकी थिइन्। उनले यी विषय सार्वजनिक गरेपछि आफू बलिउड माफियाको निशानामा परेको आरोप लगाएकी छन्।
तनुश्री भन्छिन्, “सुशान्त सिंह राजपूतजस्तै मलाई पनि बलिउड माफियाले टार्गेट गरेका छन्। मेरो ज्यान सुरक्षित छैन।”
बुधबार दिउँसो प्रहरीले उनीसँग सम्पर्क गरी अवस्थाबारे जानकारी लिएको थियो। त्यसबेला उनले सुरक्षा माग गरेकी थिइनन्। तर राति धम्की आएपछि उनले तुरुन्त प्रहरीसमक्ष उजुरी दिएकी हुन्।
धम्की दिनेहरूले आफूलाई पछ्याइरहेको, केही शंकास्पद मानिसहरूले निगरानी गरिरहेको पनि तनुश्रीले बताएकी छन्। उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी कारबाही अगाडि बढाउने तयारी गरिरहेकी छन्।
“सरकारले मलाई सुरक्षा र न्याय दिनेमा म विश्वस्त छु,” उनले भनिन्। तनुश्री दत्ताले ‘आशिक बनाया आपने’ लगायत थुप्रै चर्चित चलचित्रमा अभिनय गरिसकेकी छन्। पछिल्लो समय उनी बलिउडमा भएको शोषण र अन्यायको विरोधमा खुलेर बोलिरहेकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया