काठमाडौँ – लोकप्रिय टेलिभिजन अभिनेत्री श्वेता तिवारीले आफ्नो संघर्षपूर्ण अभिनय यात्रा स्मरण गर्दै टेलिभिजन उद्योगमा आफूले भोगेको कठिन समयको खुलासा गरेकी छन्। एक अन्तर्वार्तामा उनले खुलासा गरिन्, एक समयमा उनले लगातार ७२ घण्टासम्म नसुती सुटिङ गरेकी थिइन्।
भारती टिभीको युट्युब च्यानलमा सार्वजनिक गरिएको पोडकास्टमा बोल्दै उनले भनिन्, “यो ३० दिनको महिना हो, तर मलाई ४५ दिनको तलब मिल्थ्यो। बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सुटिङ हुन्थ्यो, अनि भोलिपल्ट साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अर्को शिफ्ट। यसरी लगातार काम गर्थें।”
श्वेताले टेलिभिजन उद्योगमा कलाकारहरूसँगै निर्माताहरूको पनि योगदान बराबरी रहेको बताइन्। विशेषगरी उनले टेलिभिजन निर्माता एकता कपूरको कार्यशैलीको खुलेर प्रशंसा गरिन्। उनले भनिन्, “एकता जीसँग २२ वटा प्रोजेक्टहरू थिए। उनी कहिल्यै सुत्दिनथिन्। जब तपाईंले फोन गर्नुभयो, उनी तुरुन्तै जवाफ दिन्थिन्। उनले जुन स्तरको निर्देशन दिन्थिन्, त्यसपछि गल्तीको सम्भावना रहँदैनथ्यो।”
श्वेताले थपिन्, “उनको अभिनयको बुझाइ यति गहिरो थियो कि रिहर्सलको क्रममा उनी आफैं संवाद बोल्दा, लाग्थ्यो उनी हामीभन्दा पनि राम्रो कलाकार हुन्।”
टेलिभिजनको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै श्वेताले भनिन्, “पहिले एकताले कार्यक्रम दर्शकको स्वाद मात्र होइन, आफ्नै रचनात्मक सन्तुष्टिका लागि बनाउँथिन्। अहिले चाहिँ सबै कुरा TRP मा निर्भर भएको छ।”
श्वेता तिवारीलाई स्टार बनाएको सिरियल ‘कसौटी जिन्दगी की’ मा उनले ‘प्रेरणा’ को भूमिका निभाएकी थिइन्। यो सिरियल २००१ देखि २००८ सम्म प्रशारण भएको थियो। त्यसपछि उनले ‘बिग बोस ४’ जितेकी थिइन् र ‘परवरिश’, ‘बेगुसराय’, ‘मेरे ड्याड की दुल्हन’ जस्ता शोहरूमा अभिनय गरेर दर्शकहरूको मन जितेकी छिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया