मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दीर्घरोगी बिरामीको उपचारमा रु ६२ लाख बढी खर्च

तनहुँ – आर्थिक वर्ष २०८१/२०८२ मा व्यास नगरपालिका कार्यालयले ११७ जना दीर्घरोगी बिरामीका लागि रु ६२ लाख १० हजार उपचारमा खर्च गरेको छ । मिर्गौला प्रत्यारोपण, मिर्गौला डायलासिस, क्यान्सर रोग पहिचान भई तीन/तीन महिनामा जचाउने गरेका, मेरुदण्डको पक्षघात र पार्किनसन (बिर्सिने) रोगका बिरामीलाई मासिक रु पाँच हजारका दरले बैंक खातामार्फत भुक्तानी गरेको हो ।

विपन्न नागरिकले उक्त सुविधा लिनका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस, चिकित्सक सिफारिस र व्यास नगरपालिकाको बासिन्दा हुनुपर्ने व्यवस्था रहेको स्वास्थ्य तथा जनसङ्ख्या शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनले भने, “सङ्घीय सरकारमार्फत बजेट आएकाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका, सरकारको बहालवाला जागिरे कर्मचारी र पेन्सन पाइरहेका व्यक्तिले यस किसिमको सुविधा लिन पाउँदैनन् ।”

“विपन्न नागरिकका लागि अस्पतालसम्म पुग्न समस्या भएको अवस्थामा नगरपालिकाले बढीमा रु १५ हजारसम्म सहयोग रकम प्रदान गर्न सक्नेछ”, उनले भने, “यसका लागि वडाको सिफारिस र व्यास नगरवासी भएको हुनुपर्नेछ ।”

त्यसैगरी, दीर्घरोगी समस्या भई अस्पतालबाट औषधि उपचारमा छुट लिन नगरपालिकाले १२६ जना विपन्न नागरिकलाई सिफारिस गरी पठाइएको जनाएको छ । ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी गरी ९८ जनालाई निःशुल्क रूपमा एम्बुलेन्स सेवा प्रदान गरिएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

व्यास मातहतमा रहेका १४ वटै वडाका घरघरमा पुगेर पाँच हजार ५७५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । उनले भने, “घरघरमा स्वास्थ्यकर्मी पुगेर सेवा दिँदा उनीहरूले स्थानीय सरकार आफ्नो साथमा रहेको खुसीको अनुभूति गरेका थिए ।” पाठेघरको क्यान्सर रोगविरुद्धको एचपिभी खोप अभियानमा तीन हजार ८२४ जना किशोरीको जाँच गरिएको थियो ।

त्यसैगरी, पाठेघरको मुखमा हुने क्यान्सर रोगविरुद्धको भिआइए स्क्रिनिङ्गर स्वास्थ्य शिविरमार्फत एक हजार ३४४ जनाले सेवा लिएका थिए । सबै क्षयरोगमुक्त खोप अभियानमार्फत घरधुरी सर्वेक्षण र क्षयरोग कार्यक्रमको माइक्रोप्लानिङ कार्य सम्पन्न गरेको थियो ।

सुनौला हजार दिनका आमाहरूको पोषण तथा स्वास्थ्य स्थिति प्रवद्र्धनका लागि पोषणसम्बन्धी अभिमुखीकरण प्रदान गरी सचेतना गराउने कार्य गरिएको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । पोर्टेवल एक्स–रे मेसिनबाट छात्ती रोगसम्बन्धी खोजपड्ताल शिविर सञ्चालन गरी ८७१ जनाको स्वास्थ्य जाँच गर्दा छ जनामा क्षयरोग पुष्टि भएपछि उपचारमा पठाइएको स्वास्थ्य तथा जनसङ्ख्या शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?