काठमाडौं–आगामी साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने नेपाली सिनेमा ‘सिटामोल’ को दोस्रो गीत सार्वजनिक भएको छ।
‘मुटुभित्र खिल छ हजुर’ शीर्षकको यस गीतमा रोमान्स, भावनात्मकता र मनछुने शब्दले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। बुधबार सार्वजनिक गरिएको गीतमा मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला र जानुका विश्वकर्मा को साथमा संगीतकार तथा गायक बाबुल गिरी स्वयं पनि देखिएका छन्।
गोविन्द भट्टको शब्द रचना तथा बाबुल गिरीको संगीत र स्वरले सुसज्जित गीतलाई आकर्षक भिडियोले थप उचाइ दिएको छ।यसअघि सार्वजनिक गरिएको टिजरमा यो गीतको सानो अंश समावेश गरिएको थियो, जुन फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो। यही उत्साहलाई मध्यनजर गर्दै निर्माण टिमले पुरा गीत सार्वजनिक गरेको हो।
डेब्यु कलाकारदेखि अनुभवी स्टारसम्म
राज बहादुर साने निर्देशित सिनेमामा सौगात मल्ल र बेनिशा हमालको लिड अभिनय रहेको छ भने श्रीकृष्ण निरौला र जानुका विश्वकर्माले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गर्दै छन्। साथमा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल लगायतका कलाकारको पनि अभिनय समावेश छ। बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी समेत सिनेमामा देखिनेछन्।
बलियो प्राविधिक टिमको साथमा
तुल्सी देवी फिल्म प्रा.लि र जुनतारा फिल्म्स को संयुक्त ब्यानरमा निर्माण भएको ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक सानेले मिलेर लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमाका निर्माता भुगोल कुमार कार्की र विकाश राज जोशी हुन्। कार्यकारी निर्माता अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी रहेका छन् भने सह-निर्माता गंगाराम श्रेष्ठ हुन्।
सिनेमाको प्राविधिक पक्षलाई बलियो बनाउन कविराज गहतराज (कोरियोग्राफी), बन्दे प्रसाद (सम्पादन), राजेन्द्र मोक्तान (DI कलर), मुकेश शाह (साउण्ड डिजाइन), देव र शंकर महर्जन (द्धन्द्व निर्देशन) जस्ता दक्ष व्यक्तित्वको टिम खटिएको छ। सिनेमाको छायांकन दिव्य सुवेदी ले गरेका छन्।
‘सिटामोल’ गीतमार्फत फेरि एकपटक नेपाली दर्शकमा उर्जा भर्न खोजिएको छ। अब हेर्न बाँकी कुरा, साउन २३ गते पर्दामा कस्तो महसुस दिलाउँछ ‘सिटामोल’ले।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया