मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साउन महिनामा शिवको पूजा किन गरिन्छ ? जान्नैपर्ने धार्मिक, सांस्कृतिक र आध्यात्मिक कारणहरू

काठमाडौँ- साउन महिना हिन्दू धर्ममा विशेष धार्मिक महत्व राख्ने महिनामध्ये एक हो। विशेषतः यो महिना भगवान शिवको आराधना र उपासना गर्ने समयको रूपमा चिनिन्छ।

हिन्दू पात्रोअनुसार असार सकिएर साउन लागेपछि विशेषगरी सोमवारका दिन शिव मन्दिरहरूमा भक्तजनको भीड लाग्छ। व्रत बस्ने, जल चढाउने, दुग्धाभिषेक गर्ने, बेलपत्र अर्पण गर्ने लगायतका विधिहरू व्यापक रूपमा देखिन्छन्।

तर साउन महिना भगवान शिवसँग किन विशेष रूपमा जोडिएको छ ? यसको धार्मिक र सांस्कृतिक कारणहरू गहिरो छन्।

१. समुद्र मन्थनको कथा र विषपान
पुराणअनुसार साउन महिना समुद्र मन्थनको समय हो। देवता र असुरहरूले अमृत प्राप्तिको आशामा समुद्र मन्थन गरेका थिए। मन्थनको क्रममा सबैभन्दा पहिले हलाहल नामक घातक विष निस्किएको थियो। यो विषले सारा ब्रह्माण्ड नै नष्ट हुन सक्ने खतरा थियो। त्यसबेला भगवान शिवले संसारलाई बचाउन त्यो विष पान गरे। विषको असर कम गर्न उनले गला नाघ्न नदिई कण्ठमै थामे, जसका कारण उनको कण्ठ निलो भयो र उनी ‘नीलकण्ठ’ भनेर चिनिन थाले।

साउन महिनालाई यही विषपानको घटना सम्झाउने समय मानिन्छ। भक्तजनहरूले शिवको पूजा गर्दै उनका त्याग र बलिदानलाई स्मरण गर्छन्।

२. ब्रह्माण्डमा जलको प्रभाब र शिवलाई जल चढाउने परम्परा
साउन महिनामा वर्षाको मात्रा अत्यधिक हुन्छ। नदी, ताल, धाराहरूमा पानीको सतह बढ्ने गर्छ। प्राचीन शास्त्र अनुसार जल तत्वले भगवान शिवलाई शान्त बनाउँछ। विषको प्रभाव कम गर्न शिवलाई निरन्तर जल अर्पण गर्नु लाभदायक मानिन्छ। यही कारण साउनभर विशेषगरी सोमवारका दिन भक्तजनहरूले शिवलिंगमा जल, दूध, दही, घ्यू, मह, चिनी लगायत पञ्चामृत चढाउने गर्दछन्।

३. पार्वतीको तपस्या र शिव विवाहको सम्बन्ध
धार्मिक कथन अनुसार साउन महिनाभर देवी पार्वतीले कठोर तपस्या गरेर भगवान शिवलाई पतिको रूपमा प्राप्त गरेकी थिइन्। यो महिनामा पार्वतीको तप, शिव–पार्वतीको मिलन, र वैवाहिक जीवनको शुभताको प्रतीक मानिन्छ। त्यसैले विशेषगरी विवाहित र अविवाहित महिलाहरूले साउन सोमवारमा व्रत बस्ने, हरियो चुरा लगाउने, शिव–पार्वतीको पूजा गर्ने चलन व्यापक छ।

४. साउन सोमवार व्रतको धार्मिक प्रभाव
साउन महिनाको प्रत्येक सोमवार ‘सावन सोमवारी’ का रूपमा मनाइन्छ। शास्त्र अनुसार यो दिन शिवको विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ। भक्तजनले बिहानै स्नान गरी शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, शिव चालीसा वा ॐ नमः शिवाय जप्ने गर्दछन्। व्रत बसेर कामना अनुसार वर–दान प्राप्त हुने जनविश्वास रहेको छ।

– अविवाहित महिलाहरूले योग्य वरको प्राप्तिका लागि
– विवाहित महिलाहरूले पतिको दीर्घायु र सुखी वैवाहिक जीवनका लागि
– साधकहरूले मानसिक शान्ति, स्वास्थ्य र मोक्षको कामनाका लागि यो व्रत बस्छन्।

५. साउन महिनाको आध्यात्मिक महत्व
साउन महिना ध्यान, योग, जप, साधना गर्ने उत्तम समय हो। यो महिनामा वातावरण शीतल र हरियालीले भरिएको हुन्छ, जसले मनलाई पनि शान्त बनाउँछ। भगवान शिवलाई तप, ध्यान, योगका देवता मानिन्छ। त्यसैले यो समय आत्मशुद्धि र आत्मबोधका लागि उपयुक्त मानिन्छ।

६. सामाजिक एवं सांस्कृतिक एकता
साउन महिना केवल धार्मिक दृष्टिले मात्र होइन, सामाजिक दृष्टिले पनि महत्वपूर्ण छ। महिलाहरूले समूहमा भेला भएर भजन, कथा, गीत गाउने गर्छन्। हरियो चुरा, सारी, पोते साटासाट गर्ने परम्पराले आपसी स्नेह र भाइचारा बढाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?