काठमाडौं- निर्देशक कृषा चौलागाईंको नयाँ फिल्म ‘जहाजैमा’को तयारी तीव्र रूपमा अगाडि बढिरहेका बेला चर्चित अभिनेता प्रदीप खड्का भने फिल्मबाट अलग भएका छन्। समय मिल्न नसकेपछि उनी यस प्रोजेक्टमा नजोडिने पक्का भएको हो।
फिल्म ‘जहाजैमा’ आगामी भदौ महिनाबाट छायांकन सुरु गर्ने लक्ष्यमा छ। यसका लागि सौगात मल्ल, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटी पहिले नै अनुबन्धित भइसकेका छन्।
निर्देशक कृषाले यसअघि बनाएको फिल्म ‘पिताम्बर’मा समेत सौगात मल्ल मुख्य भूमिकामा थिए। त्यही कारण यो फिल्म पनि ‘पिताम्बर’को टिमसँग केही हदसम्म मिल्दोजुल्दो हुने अनुमान गरिएको छ।
अभिनेता प्रदीप खड्कासँग निर्माण पक्षले कुराकानी गरिसकेको थियो। तर उनले हाल भैरहेको अर्को फिल्मको छायांकनको तालिका ‘जहाजैमा’सँग ठोक्किएको बताए।
यद्यपि उनले निर्देशक कृषासँग कुनै प्रकारको मतभेद नरहेको प्रस्ट पारेका छन्। उनीहरू आगामी दिनमा ‘पिताम्बर’को सम्भावित सिक्वेलमा फेरि सँगै काम गर्ने योजना बनाइरहेका छन्।
प्रदीपको अनुपस्थितिले फिल्म टिम अहिले नयाँ हिरोको खोजीमा लागेको छ। निर्देशक कृषा कथाको आवश्यकता र पात्रको अनुकूल हुने नयाँ अनुहारका लागि विभिन्न कलाकारहरूसँग छलफलमा छिन्।
तर को आउने भन्ने टुंगो लाग्न बाँकी भएकाले दर्शकलाई केही समय कुर्नुपर्नेछ। ‘जहाजैमा’मा समेटिने विषयवस्तु, कलाकार र निर्माणको स्तर हेर्दा यो कृषा चौलागाईंको अर्को महत्त्वाकांक्षी प्रोजेक्ट हुने देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया