काठमाडौँ- निर्देशक रुपेश तामाङ फेरि पनि ठूलो पर्दामा फर्किने तयारीमा छन्। आफ्नो पछिल्लो फिल्म दान्भी पछि उनले नयाँ फिल्म एक्का तीन को निर्माण घोषणा गरेका छन्। एकसाथ थ्रिल, एक्सन र रहस्य बोकेको फिल्म एक्का तीन को पहिलो झल्को सार्वजनिक पोस्टरसँगै प्रस्तुत गरिएको छ।
थीम पोस्टरमा देखिएको हेलिकप्टर, विष्फोट र तीन पात्रले फिल्मको शैलीलाई प्रष्ट संकेत गर्छ — एक्सन र सस्पेन्सले भरिएको कथा। पोस्टरमा दुई पुरुष र एक महिलाको उपस्थितिले त्रिकोणात्मक कथा हुनसक्ने अनुमान गर्न सकिन्छ।
फिल्ममा अभिनेत्री पूजा शर्माको मुख्य भूमिका पुष्टि भइसकेको छ भने अन्य पात्रहरूबारे निर्माण पक्षले हालसम्म केही सार्वजनिक गरेको छैन। ‘एक्का तीन – च्याप्टर १’ नाम राखिएकाले यो फिल्म एकभन्दा बढी भागमा निर्माण हुने सम्भावना पनि देखिएको छ।
निर्देशक तामाङका अनुसार, यसपटक उनी आफ्नो अघिल्ला फिल्महरूमा भएका कमी कमजोरी सच्याउँदै अझ सशक्त कथा र प्रस्तुति ल्याउने तयारीमा छन्। “यो फिल्म मार्फत नेपाली फिल्ममा एक्सनको नयाँ स्तर देखाउने प्रयास हुनेछ,” तामाङले बताएका छन्।
फिल्म २०२६ मा प्रदर्शन हुने तयारीमा छ भने हाल प्रि–प्रोडक्सनको काम तीव्र गतिमा भइरहेको छ। फिल्म जुना फिल्मस्को ब्यानरमा निर्माण हुँदैछ र लेखक सुमन गजमेरको कथामा आधारित छ।
‘एक्का तीन’ नेपाली फिल्म उद्योगमा गुणस्तरीय एक्सन शैली पुनःस्थापना गर्ने प्रयासका रूपमा हेरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया