मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल

सुनसरी- धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा) मा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको छ ।

धरान बजार, इटहरी, चारकोसे झाडी तथा तराईका विभिन्न ठाउँको रमणीय दृश्यावलोकन गर्न सकिने यो डाँडा पछिल्लो समय पूर्वी नेपालकै चर्चित पर्यटकीय केन्द्रसँगै हाइकिङ गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

गर्मीको समयमा साथीभाइ वा परिवारसहित घुम्न र हाइकिङ गर्न उपयुक्त मानिने यो ठाउँमा दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् । धरान, इटहरी, झापा, चितवन, काठमाडौँजस्ता ठाउँबाट आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका हुन् ।

Laxmi sunrise bank 2034
धरान उपमहानगरपालिका–१६ का सुदीप श्रेष्ठ बेलायतबाट बिदामा घर आएपछि चिन्डेडाँडा पुगे । पहिले नाङ्गो देखिने यो डाँडा अहिले निकै विकास भएको रहेछ, घुम्नका लागि उपयुक्त गन्तव्य बनेको देख्दा आफूलाई खुसी लागेको उनले बताए । उनी भन्छन्, “गर्मीमा यहाँ साथीभाइको चहलपहल निकै हुन्छ, दृश्य हेर्दै घुम्न रमाइलो लाग्छ ।”

इटहरीकी सुशीला राई पनि पहिलोपटक चिन्डेडाँडा पुगेको बताउँछिन् । “गर्मीका बेला यहाँको रमाइलो वातावरण र दृश्यावलोकनको आनन्द वर्णन गरेर सकिन्न”, उनी भन्छिन्, “जाडोमा मान्छे कम भए पनि गर्मीमा धेरै नै घुम्न आउने रहेछन् ।”

पूर्वी पहाडी क्षेत्र र तराईको सङ्गमस्थल जस्तो देखिने चिन्डेडाँडा धरान बजारबाट मोटरसाइकल तथा गाडीमा करिब १५ देखि २० मिनेट र पैदल हिँडेर करिब एक घण्टामा पुग्न सकिन्छ । पहिला उजाड र सुनसान देखिने यस ठाउँमा पर्यटकको चहलपहल देखिन थालेको करिब दुई दशक भएको स्थानीयको भनाइ छ । पहिले चिन्डेडाँडाबाट प्याराग्लाइडिङ सेवा उपलब्ध थियो, जसले थप पर्यटक तान्ने गथ्र्यो । हाल प्याराग्लाइडिङ बन्द भए पनि त्यही स्थानमा दर्जनौँ होटल तथा खाजा घर खुलेका छन् ।

स्थानीय होटल व्यवसायी लक्ष्मी तामाङका अनुसार गर्मीयाममा चिन्डेडाँडामा दैनिक तीन सयको हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यहाँ आउने पर्यटकले लोकल कुखुराको मासु, तोङ्वा, सुकुटी, भट्टु धानको भातजस्ता मौलिक परिकार निकै मन पराउने गरेको उनले बताइन् । खास गरी गर्मीमा यी परिकारको माग उच्च हुन्छ, चिसोयामभन्दा गर्मीयाममा व्यापार पनि राम्रो हुन्छ ।

खास गरी दिनभरिको छोटो घुमफिरका लागि चिन्डेडाँडा उपयुक्त गन्तव्य बनेको व्यवसायी वसन्ती तामाङ बताउँछिन् । धेरैजसो पर्यटक दुईचार घण्टा बसेर फर्किन्छन्, तर केही बास बस्ने पनि हुन्छन् । उनका अनुसार गर्मीमा झापा, चितवन, काठमाडौँबाट धेरै पर्यटक आउँछन्, तर जाडो लागेपछि सङ्ख्या घट्ने गर्छ ।

धरानबाट चिन्डेडाँडा पुग्न हाल कच्ची सडक रहेको र वर्षायाम वा जाडो मौसममा आवतजावत केही असहज हुने गरेको व्यवसायीको गुनासो छ । यद्यपि सर्दु खोलामा पुल निर्माण भएपछि यात्रा केही सहज भएको छ ।

स्थानीयका अनुसार पहिले धरानबाट उत्तरतर्फ हेर्दा यो डाँडा नाङ्गो देखिने भएकाले चिन्डेडाँडा भन्ने नाम रहन गएको हो भने बाटो हिँड्नेहरूले यहाँ अडिएर रमिता हेर्ने भएकाले स्थानीयबिच यो ‘रमितेडाँडा’का नामले समेत परिचित छ । यस क्षेत्रमा तामाङ, गुरुङ, राई, क्षेत्री, ब्राह्मण समुदायको बसोबास छ । गुरुङ छाप, कार्की छापजस्ता स्थान चिन्डेडाँडा नजिक रहेका छन् ।

चिन्डेडाँडाभन्दा थोरै माथि केही वर्षअघि कोशी प्रदेश सरकारको सहयोगमा भ्यूटावर पनि निर्माण भएको छ ।

डाँडा नजिकै तामाङ बस्तीमा घरबास (होमस्टे) पनि सञ्चालित छ । चिन्डेडाँडा र आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षण रमाइला स्थल रहेकाले पछिल्लो समय पर्यटनको विकास निकै भइरहेको पर्यटन व्यवसायी बासु बराल बताउँछन् ।

धरानका नगरप्रमुख हर्कराज राई साम्पाङको नेतृत्वमा हाल चिन्डेडाँडा क्षेत्रमा किरात राई समुदायका देउता सुम्निमा–पारुहाङको प्रतिमा निर्माण गर्ने तयारी भइरहेको छ । प्रमुख साम्पाङका अनुसार प्रतिमा स्थापना भएपछि चिन्डेडाँडा क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने स्थानीयको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?