मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘मोहर’को नयाँ गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक

काठमाडौँ- साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन तयारीमा रहेको नेपाली फिल्म ‘मोहर’ को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक भएको छ।

फिल्ममा समावेश यस गीतले दर्शकको उत्साह थपेको छ, विशेषगरी अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालको रोमान्स र आकर्षक नृत्य प्रस्तुतिले।

गीतमा एसडी योगी र विज्ञानी पराजुलीको आवाज, हर्क साउदको शब्द र एसडी योगीकै संगीत रहेको छ। कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा तयार भिडियोमा पल र बेनिशाको नृत्य, झगडा र हास्य समावेश दृश्यहरूले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ।

विशेष कुरो के छ भने, यस भिडियोमा अभिनेता पल शाह फरक लुक्समा — लामो कपालमा प्रस्तुत भएका छन्। साथमा अभिनेत्री मिथिला शर्मा र बाल कलाकार सारा शर्माको उपस्थितिले भिडियोलाई थप आकर्षक बनाएको छ।

यसअघि सार्वजनिक भएको फिल्मको शीर्ष गीतमा पल शाह र नीति शाह देखिएका थिए। तर नयाँ गीतमा भने पल र बेनिशा हमालको केमेस्ट्रीलाई केन्द्रमा राखिएको छ।

‘फिल्म मेकर्स प्रा.लि.’ को ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता चुम्बन जंग शाही हुन्। फिल्ममा अर्जुन जंग शाही, रविन्द्र झा, लक्ष्मी गिरी लगायतका चर्चित कलाकारको अभिनय समावेश छ।

फिल्ममा कुमार महर्जनको एक्सन निर्देशन, दिपेन बस्न्यातको छायांकन तथा संगीतकार सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत रहेको छ। निर्देशक गिरिराज घिमिरेको सहायक निर्देशनमा लक्ष्मण राज पौडेलले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन्।

‘देउकी प्रथा’ जस्तो गम्भीर सामाजिक विषयमा आधारित ‘मोहर’ को टिजरले पहिल्यै दर्शकबाट राम्रो प्रतिक्रिया पाइसकेको छ। अब सार्वजनिक भएको नयाँ गीतले फिल्मप्रतिको आशा र चासोलाई झनै बढाएको छ। दर्शकले फिल्मलाई पनि त्यत्तिकै माया दिनेछन् भन्ने अपेक्षा निर्माण पक्षले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?