काठमाडौं- आउँदो फागुन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘कल्ली’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने भएको छ। निर्माता किरण नेपालीका अनुसार फिल्म नेपाल, भारत र पाकिस्तानमा एकैपटक प्रदर्शन हुनेछ।
नेपालमा फिल्म नेपाली भाषामा मात्र प्रदर्शन गरिने भए पनि भारत र पाकिस्तानमा हिन्दी भाषामा रिलिज गरिने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।
फिल्म भारतमा एमके फिल्म डिस्ट्रिब्युटर र पाकिस्तानमा हिप्पो फिल्म्स मार्फत वितरण गरिनेछ। नेपालमा भने काफिया र कुबेर फिल्म्सले वितरणको जिम्मा लिएका छन्। नेपालमा हिन्दी संस्करण प्रदर्शन नहुने स्पष्ट गरिएको छ।
‘कल्ली’ को पहिलो पोस्टर सार्वजनिक भएसँगै दर्शक र चलचित्र बजारमा चर्चा चुलिएको छ। लक्ष्मण सुनारको लेखन र निर्देशनमा बनेको यो फिल्म हाल पोस्ट प्रोडक्सन चरणमा छ।
लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा महेश दवाडीको समेत लेखन रहेको छ। फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायत चर्चित कलाकारहरूको अभिनय रहेको छ।
‘कल्ली’ लोभ र त्यसले मानव जीवनमा पार्ने प्रभावको कथा हो। लोभले कसरी मान्छेको जीवनलाई रूपान्तरण गर्छ भन्ने विषयमा फिल्म आधारित रहेको निर्माण पक्षले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया