मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान

वीरेन्द्रनगर (सुर्खेत) – सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका किसान ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा ड्रागन फ्रुटको सम्भावना देखिएपछि ४५ जना किसानले व्यावसायिक खेती सुरु गरेका हुन् ।

वीरेन्द्रनगर–८ का कृष्ण अधिकारीले चार वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन् । कोरिया पढ्न जानुभएका अधिकारी पढाइ सकेर नेपाल फर्केपछि काठमाडौँमा कोरियन भाषा पढाउन सुरु गरे पनि उनलाई आफ्नै माटोले तान्यो । कृषि पेसामा केही गर्छु भन्ने याेजनासहित उनले ड्रागन फ्रुटको खेती सुरु गरेका छन् ।

अहिले अधिकारीको आम्दानीको स्रोत ड्रागन फ्रुट बनेको छ । करिब ४० लाख लागत लागेको बताउँदै उनले ड्रागन फ्रुट, कुरिलो, फूल र मौरीपालन गरेको जानकारी दिए । अधिकारीले वीरेन्द्रनगर–११ ग्रागेतालमा २३ कट्ठा जमिन भाडामा लिएर कर्णाली ड्रागन कृषि तथा पशुपक्षी फार्म दर्ता गरी व्यावसायिक खेती सुरु गरेका हुन् । उनले २० कट्ठामा ड्रागन र बाँकीमा जग्गामा कुरिलो, फूल र मौरीपालन गर्दै आइरहेको बताए ।

सुरूवातमा सात सय ५० पोलमा तीन हजार ड्रागनका बिरुवा लगाएको जनाउँदै अधिकारीले फार्ममा हाल नौ सय पोलमा तीन हजार ६०० बेर्ना उत्पादनमूलक बनेका बताए । बिरुवाले एक वर्षमा उत्पादन दिने हुँदा लगानी छिटो उठ्ने उनको भनाइ छ ।

उनले भारतबाट ‘सियाम रेड’ जातका ड्रागनका बेर्ना ल्याएर खेती सुरु गरेका थिए । वार्षिक रु एक लाख भाडा तिर्ने उक्त जमिन अहिले अधिकारीको आम्दानीको स्रोत बनेको छ । ड्रागनको उत्पादन जेठदेखि मंसिरसम्म हुने गर्दछ । कोपिला आएको ३५ दिनमा फल बजार पठाउन सकिन्छ ।

यो वर्ष पहिलो सिजनमा एक सय ५० किलो फल उत्पादन भइसकेको अधिकारीले जानकारी दिए। “दोस्रो सिजनको फल बजार पठाउन सुरु भइसकेको छ । यस सिजनमा २० क्वीन्टलभन्दा बढी उत्पादन हुने अनुमान छ”, उनले भने ।

गत वर्ष ६० क्वीन्टल फल बिक्री गरेर रु २२ लाख आम्दानी गरेको अधिकारीले जानकारी दिए । यस वर्ष उत्पादन बढेर एक सय क्वीन्टल पुग्ने अनुमान गरिएको भन्दै करिब रु ३० लाखको कारोबार हुने अपेक्षा गरिएको उनले उल्लेख गरे । “खुद्रा बजारमा प्रतिकिलो रु चार सय र थोकमा रु तीन सय ५० मा बिक्री हुँदै आएको ड्रागनको माग दिनानुदिन बढ्दो छ । एक पटक लगाएको ड्रागनको बिरुवाले २० वर्षसम्म फल दिन्छ”, उनले भने ।

ड्रागनसँगै उनले कुरिलो खेती गरेका छन्। चैतदेखि भदौसम्म फल दिने यो वनस्पति एकपटक लगाएपछि १० वर्षसम्म उत्पादन दिन्छ । यस वर्ष मात्रै कुरिलो बिक्री गरेर उहाँले रु ६० हजार आम्दानी गरेको बताए । कुरिलो प्र्रतिकलिो रु छ सयमा बिक्री हन्छ ।

मौरीपालन सुरु गर्न परीक्षणमा तीन घार मौरी राखेको बताउँदै अधिकारीले यस वर्ष मौरीको घार विस्तार गरी ६० वटा पु¥याउने योजना रहेको जानकारी दिए । उनले भने, “अहिले मौरी परीक्षणका लागि तीन घार मात्र राखेका छौँ । उत्पादन प्रशस्त हुने अपेक्षा छ । यस वर्ष मौरीको घार ६० सम्म पु¥याउने तयारीमा छौँ ।”

कृषिमा आत्मनिर्भर हुँदै गएको अधिकारीले फार्ममा एक जनालाई स्थायी रोजगारी पनि दिए । उनलाई मासिक रु १७ हजार तलब दिने गरेको अधिकारीले बताए । उनका अनुसार ड्रागन र कुरिलोका बिरुवा उत्पादन र बिक्रीबाट वार्षिक रु मात्र एक लाख ५० हजार आम्दानी हुने गरेको छ ।

अधिकारी जस्तै वीरेन्द्रनगर–१२ की पद्मा रावत ड्रागन फ्रुटको खेतीमा रमाउन थालेको पाँच वर्ष भयो । विसं २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फार्म स्थापना गरी श्रीमान् वीरबहादुर बुढा र उनले खेती गर्ने योजना बनाएका थिए । विसं २०७७ चैतमा बिरुवा लिन भारतको गुजरात पुगे । त्यतिबेला कोरोना सङ्क्रमण महामारीका रूपमा फैलिएको थियो । कोरोनाका कारण वीरबहादुरको विसं २०७८ वैशाख १७ गते मृत्यु भएपछि रावतले व्यवसायलाई निरन्तरता दिँदै आएका छन् ।

रावतले छ सय ५० पोलमा दुई हजार ६०० बिरुवाबाट सुरु गर्नुभएको ड्रागन फ्रुटको खेती अहिले एक हजार ४०० पोलमा पाँच हजार ६०० बिरुवा पुगेका छन् । वार्षिक रु तीन लाख तिर्नेगरी जग्गा १५ वर्षका लागि सम्झौता गरी भाडामा लिएको उहाँले जानकारी दिए ।

“यस वर्षको पहिलो सिजनको ड्रागन बजार पठाउन सुरु भएको छ । अहिलेसम्म दुई क्वीटल बिक्री गरिसकेकी छु । एउटा बोटले आठ पटकसम्म उत्पादन दिन्छ । एउटा खम्बामा चार वटाका दरले बिरुवा रोप्ने गरिन्छ । यो फलको मूल्य अहिले केही घटेको छ, पहिला जस्तो अहिले आम्दानी हुँदैन तर आफूलाई घर खर्च र छोराछोरीको पढाइ खर्च पुगेको छ”, उनले भने ।

वर्षमा रु छ लाखसम्म आम्दानी हुने गरेको रावतले जानकारी दिए । उनले भने, “नयाँ रोपेका बिरुवाले फल दिने समय नभएकाले आम्दानी कम भएको हो । ड्रागनका बिरुवा बिक्री गरेर वार्षिक रु तीन लाख आम्दानी हुन्छ”, उनले भने । उहाँले फार्ममा तरकारी, फूलका बेर्ना लगाउनुका साथै कुखुरा र बाख्रापालन पनि गर्दै आउनुभएको छ ।

कर्णाली ड्रागन उत्पादन महासङ्घ, कर्णाली प्रदेशका अध्यक्ष महेन्द्र खनालले पछिल्लो समय सुर्खेतका किसान ड्रागन खेतीतर्फ आकर्षित हुन थालेका बताए । उनका अनुसार अहिले सुर्खेतमा ४५ जना किसानले ड्रागन फ्रुटको खेती गर्दै आइरहेका छन् । उनका अनुसार करिब ७० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रुटको खेती भइरहेको छ ।

खनालका अनुसार हाल उत्पादन भएका ड्रागन सुर्खेतमा बिक्री हुनुका साथै नेपालगञ्ज र काठमाडौँसम्म पठाइने गरिएको छ । सरकारी तथा निजी क्षेत्रको सहकार्यमा बजार पहुँच, भण्डारण सुविधा र प्रविधिको पहुँच सुनिश्चित गरिएमा ड्रागन फ्रुट खेतीले कर्णाली प्रदेशको कृषि व्यवसायलाई नयाँ उचाइमा पु¥याउन सक्ने अध्यक्ष खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?