काठमाडौं- एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ मा नेपालले सिंगापुरविरुद्ध ६ विकेटको जित निकालेको छ । आइतबार (असार ८) मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा सिंगापुरले प्रस्तुत गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा प्रसिद्ध जैसीले सर्वाधिक ५५ रन बनाए । रौनक श्रीवास्तवले ४० रन जोडे । सूर्यान्सु कोइराला र सिवान्स बजगाईंले समान नौ रन थपे ।
सिंगापुरका आकाश तेजाले तीन विकेट लिए । युवन पाण्डेले एक विकेट हात पारे । त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउनुअघि १३८ रन बनाएको थियो ।
सिंगापुरका कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए । ओपनर आहान भुधानभामले ३८ रन जोडे । अर्का ओपनर रोशन अरुन ११ बनाउँदै आउट भए ।
सिंगापुलाई १३८ रनमा समेट्ने क्रममा नेपालका कप्तान विपीन शर्माले चार विकेट लिए । सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक/एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया