काठमाडौँ- आगामी जेठ २३ गते शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘जन्ते बाख्रो’ ले प्रचारको लागि ‘जन्ते बाख्रो साँझ’ नामक साङ्गीतिक कार्यक्रम आयोजना गरेको छ।
शनिबार साँझ सिटी स्क्वायर मल, सामाखुसीमा आयोजना गरिएको कार्यक्रममा बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारी लगायतका गायक-गायिकाले फिल्मका गीतहरू ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’, ‘मुकु मुकु म्या’ लाई प्रत्यक्ष गाएर दर्शकलाई झुमाएका थिए।
कार्यक्रमको आकर्षण अभिनेत्री गरिमा शर्मा थिइन्, जसलाई दुलहीको भेषमा बग्गीमा राखेर घुमाइएको थियो। सोही बग्गीमा ‘जन्ते बाख्रो’ टिसर्ट र बोकाको टाउको भएको कटआउट सहित केही युवाहरूले आकर्षक प्रस्तुति दिएका थिए।
फिल्मका कलाकारहरू आसिफ शाह, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतम, निर्देशक सिमोर सुनुवार, लेखक प्रदीप भारद्वाज र निर्माता सन्तोष गौतम लगायतले कार्यक्रममा उपस्थिति जनाएका थिए।
यसअघि देशभरका ठूला सहरहरूमा टेम्पोमा पोस्टर टाँसेर प्रचार गरिएको थियो। अब भने फिल्मको मिति नजिकिँदै जाँदा प्रत्यक्ष साङ्गीतिक कार्यक्रममार्फत दर्शकमाझ पुग्ने प्रयास गरिएको हो।
निर्देशक सिमोर सुनुवारले फिल्ममा गाउँघरमा हराउँदै गएको जन्ती भोज र मौलिक परम्परा समेटिएको जानकारी दिएका छन्।
सन्तोष गौतम निर्माता रहेको फिल्म ‘जन्ते बाख्रो’ लाई मुईन इन्टरटेनमेन्टले निर्माण गरेको हो। फिल्ममा माहरि हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया