मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वर्षाले किसानलाई राहत

पाल्पा। समयमै परेको पानीले नै किसानको मुहारमा खुसी छाएको छ । लामो समयको खडेरीले निरास बनेका यहाँका किसान वैशाख लागेयता खुसी भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसान वर्षा भएपछि उत्साहित भएका हुन् ।

सिँचाइ सुविधा नभएर मकै छर्न पाएका थिएनौँ । वर्षापछि मकै छर्ने तयारी गरेका छौँ”, तिनाउ गाउँपालिका कचलका थर्कबहादुर बगालेले भन्नुभयो । मकै छरिसकेका किसान पनि वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । “खडेरीले मकै खेतमै सुक्न थालेको थियो । यो वर्षाले धेरै राहत पुर्यायो”, माथागढीकी मीना खाम्चाले भन्नुभयो, “सिँचाइ सुविधा नभएको हाम्रोजस्तो ठाउँका लागि वर्षाले सघाएको हो ।”

हिजोआज वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको बगनासकाली गाउँपालिका–२ का रमेश न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयको खडेरीपछि पानी परेको छ, अब बारीमा मकै छर्ने तयारी गर्दैछौँ”, सिँचाइका लागि अकासे पानीमा निर्भर रहेका किसानका लागि अहिलेको पानीले खुसी दिएको छ । “बारीमा मकै छर्ने बेला भएको थियो, पानी नपर्दा छर्न पाएका थिएनौँ, ढिलाइ भए पनि छर्न पाउने भयौँ”, पाल्पाको रिब्दीकोट गाउँपालिका सिरुखर्ककी अञ्जु थापाले भन्नुभयो । सुक्खा रहेको खेतबारी वर्षाले चिस्यान भएको छ ।

लामो समयसम्मको खडेरीले खेतबारीमा लगाएको तरकारी फस्टाउन पाएको थिएन । जिल्लाका अधिकांश ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारी गरेका छन् । खेतमा मकै छरिसकेका किसान पनि वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । अहिले पाल्पाका अधिकांस बारीमा गहुँ पाकेको छ भने केही ठाउँमा गहुँ स्याहारेर मकै छर्ने तयारीमा किसान छन् ।

वर्षाले अकासे पानीको भर पाखो बारीमा खेती गरिने मकै, अदुवा, पिँडालु, हलेदो र तरकारीखेतीलाई सहयोग पुर्याएको छ । पानी नपर्दा मकै छर्न नपाएकाले छर्न पाएको र छरेका मकै खडेरीले सुक्न लागेका बेला वर्षाले किसानलाई राहत मिलेको हो । कुलो, नहर, थोपाइ सिँचाइ माध्यमबाट सिँचाइ हुने जग्गामा पानीको अभाव नभए पनि पाखो बारी, सिँचाइ नलाग्ने जग्गामा लगाएका बाली खडेरीले मर्न लागेका थिए ।

लामो समय समयसम्म खडेरी पर्दा समय घर्किने पिरमा परेका कृषक हाल पानी परेपछि राहत महसुस गरेको बताएका छन् । चैत अन्तिमसम्म पनि पानी नपर्दा मकै धेरैले छर्न नपाएकामा पानी परेपछि पाल्पासहित पहाडी जिल्लाका किसानलाई छर्न चटारो छ ।

जिल्लामा सबैजसो ठाउँमा सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसान अकासे पानीमा भर पर्नुपर्ने बाध्यता छ । पाल्पामा आठ हजार आठ सय पाँच हेक्टर खेतमा वर्षायाममा सिँचाइ सुविधा उपलब्ध छ । वर्षैभरि तीन हजार ९३४ हेक्टर क्षेत्रफलमा सिँचाइ हुन्छ भने मौसमी सिँचाइ चार हजार ८७१ हेक्टरमा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?