वर्षायाममा सताउने पानीजन्य रोगहरू: कारण र बच्ने उपायहरू

काठमाडौँ। वर्षायाममा लगातारको वर्षा, पानी जम्ने र दूषित पानीको प्रयोगले विभिन्न पानीजन्य रोगहरूको जोखिम बढाउँछ। यी रोगहरूबाट जोगिन सरसफाइ र सतर्कता आवश्यक छ।

१. हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस ‘ए’ र ‘ई’
दूषित पानी पिउँदा यी रोगहरू सर्ने सम्भावना हुन्छ। लक्षणहरूमा पखाला, वान्ता, ज्वरो, पेट पोल्ने, टाउको दुख्ने र आँखा पहेँलो हुने समावेश छन्। समयमै उपचार नगरेमा गम्भीर परिणाम हुन सक्छ।

२. छाला सम्बन्धी रोगहरू (लुतो, दाद, खटिरा)
फोहर पानीले नुहाउँदा वा दूषित कपडा प्रयोग गर्दा यी सरुवा रोगहरू सर्न सक्छन्। रोगीको कपडा प्रयोग गर्दा वा सँगै बस्दा पनि सर्ने सम्भावना हुन्छ।

३. आँखा पाक्ने रोग (ट्रकोमा)
फोहर पानी वा सरसफाइको कमीले आँखामा संक्रमण हुन सक्छ, जसले अन्धोपन समेत ल्याउन सक्छ। विशेषगरी बालबालिकामा यो समस्या देखिन्छ।

४. किटजन्य रोगहरू (डेंगु, औलो, कालाजार, हात्तीपाइले)
लामखुट्टे र भुसुनाले यी रोगहरू सार्छन्। फोहर पानी, झाडी र झारपात भएको ठाउँमा यी कीटाणुहरू हुर्कन्छन्।

जोगिने उपायहरू
पानी उमालेर वा फिल्टर गरेर मात्र पिउने।
सधैं चर्पी प्रयोग गर्ने र सफा राख्ने।
व्यक्तिगत सरसफाइमा ध्यान दिने; हात, मुख, आँखा नियमित सफा गर्ने।
फोहर पानी वा जमेको पानीमा ननुहाउने, नखेल्ने।
घर वरिपरि पानी जम्न नदिने; खाडलहरू पुरिदिने।
लामखुट्टेबाट बच्न झ्याल–ढोका बन्द राख्ने, मच्छरदानी प्रयोग गर्ने।
संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहने; उनीहरूले प्रयोग गरेका कपडा सफा गरेर मात्र प्रयोग गर्ने।
आवश्यक खोपहरू लगाउने; चिकित्सकको सल्लाह अनुसार।
सावधानी अपनाउँदा वर्षायाममा लाग्ने पानीजन्य रोगहरूबाट बच्न सकिन्छ। स्वास्थ्यमा समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?