‘गर्भवती र नवजात शिशुको पोषण सुधारमा स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण’

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नवजात शिशु र गर्भवतीको पोषण सुधारमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

फ्रान्सको राजधानी पेरिसमा आयोजित ‘न्युट्रिसन फर ग्रोथ पेरिस २०२५’ मा सम्बोधनका उनले मातृ शिशु पोषण सुधारमा नागरिक तहसम्मै सचेतना तथा सेवा प्रवाहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको साथ महत्वपूर्ण रहेको बताए ।

मन्त्री पौडेलले पछिल्ला दुई दशकमा नेपालले पाँच वर्षभन्दा मुनिका बालबालिकामा हुने पुड्कोपनामा ३२ प्रतिशत कमी ल्याएको बताए । सन् २००१ मा नेपालमा ५७ प्रतिशतमा समस्या देखिए पनि हाल यो २५ प्रतिशतमा घटेको सरकारी तथ्याङ्क छ ।

गर्भवतीलाई आइरन र फोलिक एसिड पूर्तिका लागि सरकारले दिने चक्कीका कारण यसको उपलब्धतामा ६५ प्रतिशत वृद्धि भएको उनले स्पष्ट पारे । नेपालमा छ प्रतिशत गर्भवतीमा आइरन र फोलिक एसिडको पूरकता रहेकामा हाल यसमा वृद्धि भएर ७१ प्रतिशत पुगेको छ ।

उनले भने, “दुवै क्षेत्रमा हामीले महत्वपूर्ण उपलब्धि हासिल गरेका छौँ । यस कार्यक्रमलाई समुदायस्तरमै पुर्‍याउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र सरकारहरुबीचको समन्वयको भूमिका महत्वपूर्ण छ ।’मन्त्री पौडेलले विद्यालयमा अध्ययनरत बालबालिकालाई पोषक आहारा तथा नगद सहायताका साथै गर्भवती र नवजात शिशुलाई भिटामिन ए पूर्ति, आइरन चक्की जस्ता कार्यक्रमजस्ता नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।

उाले स्थानीय स्वयंसेविकाको क्षमता अभिवृद्धिमा न्यून कार्यक्रम, बजेटमा कमी तथा विभिन्न क्षेत्रको सहकार्य चुनौती भने नेपालसामु रहेको उल्लेख गरे । नेपालको मातृ शिशु पोषण सुधारको अनुभवले बहुक्षेत्रीय सहकार्य, सामुदायिक संलग्नता तथा दिगो राजनीतिक प्रतिबद्धताले कुपोषणको समस्या सम्बोधन गर्न भूमिका खेलेको अनुभव मन्त्री पौडेलले सम्मेलनमार्फत अन्तरराष्ट्रिय समुदायसँग साझा गरे ।

सम्मेलनमा सहभागी हुनुपूर्व मन्त्री पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुको पोषणस्तरमा सुधारका लागि विभिन्न अन्तरराष्ट्रिय दातृ निकाय तथा परोपकारी संस्थासँग वार्ता गरे । अमेरिकी परोपकारी संस्था ‘एलेनर क्रुक फाउण्डेसन’ले गर्भवती र नवजात शिशुमा विभिन्न १५ प्रकारका पोषण आपूर्ति गर्ने मन्त्रालयको योजनामा साथ दिने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?