काठमाडौँ। हामीलाई बिहान बेलुका दाँत माझ्न सिकाइन्छ तर कति टूथपेस्ट लिने भन्ने विषयका बारेमा बाल्यकालमा कसैले केही भनेको थियो त ?अमेरिकास्थित सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनको एक अध्ययनअनुसार, तीनदेखि ६ वर्षसम्मका बच्चालाई ब्रशमा मटरको दाना जति टूथपेस्ट हाल्नुपर्छ।
दन्तमञ्जनको अधिक मात्राले बच्चाको दाँतलाई हानि गर्न सक्छ। शुक्रवार जारी अध्ययनअनुसार, लगभग ४० प्रतिशत अभिभावक आफ्ना सन्तानलाई निर्धारित मात्राभन्दा बढी टूथपेस्ट दिन्छन्।
दाँत उम्रिने बेला भएका बच्चालाई कम टूथपेस्ट दिनुपर्छ किनकि अधिक मात्रामा टूथपेस्ट दिँदा उनीहरूलाई डेन्टल फ्लुओरोसिस हुन सक्छ । यो अध्ययन १७ सय बालबालिकामाझ गरिएको थियो।
दाँतको स्वास्थ्यलाई असर गर्ने केही सामान्य गल्तीहरू यसप्रकार छन्:
-नियमित परीक्षण नगर्नु: दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म कुर्नु हुँदैन। वर्षमा एकपटक डेन्टिस्टसँग परीक्षण गराउँदा रोग निम्तनुअघि नै रोकथाम गर्न सकिन्छ।
-फलोअप नगर्नु: कुनै समस्याबाट आराम मिल्नेबित्तिकै बिर्सने बानी खतरनाक साबित हुन्छ। डाक्टरले बोलाएको फलोअपलाई बेवास्ता गर्नु हुँदैन।
हतारहतार ब्रस गर्नु: दाँतको सफाईमा समय नदिनु र हतारमा ब्रस गर्दा दाँतको इनामेल कमजोर हुन्छ। दिनमा कम्तीमा दुईपटक, नरम ब्रसले दाँतको बाहिर र भित्र दुवैतर्फ सफा गर्नुपर्छ।
-माउथवास र फ्लासिङ नगर्नु: ब्रस गर्नुका साथै माउथवास र फ्लासिङ पनि जरुरी हुन्छ। दाँतको बीचमा खाना अड्कनाले सडन र गिजाको संक्रमण निम्त्याउँछ।
-जंकफुड बढी खानु: बढी सोडा, कोल्ड ड्रिंकजस्ता पेयपदार्थ पिउनाले दाँतलाई हानी गर्छन्। अधिक गुलियो र टाँसिने पदार्थ खानाले दाँतमा सडन पैदा हुन्छ।
-हरियो सागसब्जी र फल नखानु: हरियो सागपात र फलफूलबाट भिटामिन पाइन्छ, जसले गिजा स्वस्थ राख्छ। भिटामिन सी र डी दाँतका लागि फाइदाजनक हुन्छ।
-नराम्रा बानीहरू: राती सुतेको समयमा दाँत कट्कटाउनु, पेन्सिल या कलम टोक्नु, आइसक्रिम चपाएर खानुजस्ता बानीले दाँतको इनामेल र हड्डीमा नराम्रो असर पर्छ।
-दाँत दुखेपछि मात्र डाक्टरकहाँ जानु: दाँत दुख्नु भनेको धेरै नष्ट भइसक्नु हो। चिकित्सकले परीक्षण गर्दा किराले खाएको छ भने भर्न ढिला गर्नु हुँदैन।
-स्केलिङ नगर्नु: दाँतको स्केलिङ नगर्दा गिजामा फोहोर जमेर दाँत हल्लिन सक्छ। हरेक छ महिनामा स्केलिङ गर्नु राम्रो हुन्छ।
-गलत तरिकाले ब्रस गर्नु: दायाँबायाँ घोटेर ब्रस गर्दा इनामेल खियाउँछ। तलमाथि गरेर नरम ब्रसले हल्कासँग माझ्नुपर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया