भोजपुर – टेम्केमैयुङ गाउँपालिकाले महिलालाई उद्यमशीलसँगै आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रममा जोड दिएको छ । गृहणी भएर घरायसी काममा मात्र समय बिताउँदै आएका महिलालाई सीप प्रदान गरेर उद्यममा जोडिन उत्प्रेरित गरेको हो ।
गाउँपालिकाले अचार बनाउने, ढाकाको कपडा बुनाई, सिलाइकटाइ, बेमौसमी तरकारीखेतीलगायत सीपमूलक कार्यक्रम सञ्चालन गर्दैआएको छ । महिलालाई आत्माभिर्नरसँगै व्यावसायिक बनाउन ‘महिला लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् ।
आफ्नो पहलमा महिलालाई आवश्यकताका आधारमा, ढाका बुनाई, सिलाइकटाइ, अचार बनाउने, बेमौसमी तरकारीखेती गर्नेलगायत सीप प्रदान गरिएको उनको भनाइ छ ।
सीप सिकेर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन् । गाउँघरमा पाउने कच्चा पदार्थको सदुपयोग गर्दै व्यावसायिकसँगै उद्यमशील बनाउन २७ महिलालाई अचार बनाउने सीप प्रदान गरिएको छ । बाहिरबाट विषेशज्ञ प्रशिक्षक ल्याएर गाउँपालिकाका नौवटै वडाका महिलालाई अचार बनाउने तालिम समेत दिइएको छ ।
आफ्नै ठाउँमा दक्ष प्रशिक्षकबाट सीप सिक्न पाउँदा खुसी लागेको टेम्केमैयुङ–४ नागीकी सम्झना राईले भनिन् । सात दिनसम्म सहभागी भएर लिएको सीपले व्यावसायिक रूपमा अचार बनाएर आत्मनिर्भर बन्न सहयोग पुगेको उनको भनाइ छ । सीप लिएसँगै भावी दिनमा समूह निर्माण गरेर व्यावसायिक अचार उद्योग सञ्चालन गर्ने सोच बनाएको राईले बताइन् ।
“आफ्नै ठाउँमा सीप लिन पाउँदा खुसी लागेको छ”, उनले भनिन्, “सीप नुहँदा घरायसी काममा समय बितिरहेको थियो । सीप भएपछि आफ्नै ठाउँमा पाउने विभिन्न कच्चा पदार्थबाट अचार बनाएर राम्रो आम्दानी लिन सकिने रहेछ । सिकेको सीपलाई व्यवहारमा ल्याएर काम गर्ने मेरो लक्ष्य छ ।”
सातदिने अचार बनाउने तालिम लिएपछि व्यावसायिक बन्न साहस बढेको स्थानीयवासी क्षमादेवी राईले बताइन् । तालिम लिएपछि गाउँघरमा सहजै पाउने कच्चा पदार्थबाट कसरी आयआर्जन गर्न सकिनेरहेछ भन्ने ज्ञान पाएको उनको भनाइ छ ।
सीप लिन इच्छुक महिलालाई गाउँघरमा पाउने कच्चा पदार्थ अमला, अकबरे खुर्सानी, तामा, लप्सीलगायत ११ प्रकारका अचार बनाउने सीप प्रदान गरिएको प्रशिक्षक सकुन्तला प्याकुरेलले बताइन् । तालिमका सहभागी महिलाले गाउँघरमा नै पाउने कच्चा पदार्थबाट व्यावसायिक रूपमा अचार उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ ।
झापामा अचारको उद्योग सञ्चालन गरिरहेकाले यहाँ उद्योग सञ्चालन भएको खण्डमा त्यसको बजारीकरणमा आफूले सहयोग गर्ने उनले बताइन् । अचार भण्डारण तथा प्याकेजिङ, ब्रान्डिङ गर्न सकेको खण्डमा देश तथा विदेशसम्म निर्यात गर्न सकिने प्याकुरेको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया