काठमाडौं। विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । मार्च ७ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा ५ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्ने छन् । प्रभा आङदेम्बेले महिला २ सय÷४ सय मिटर दौड र लङजम्पमा भाग लिने छिन् ।
अफिसियलमा राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला राना मगर छन् । एक महिनाको अन्तरालमा नेपालले पारा एथलेक्टसमा सहभागिता जनाएको यो दोश्रो पटक हो । नेपाल गत फेब्रुअरी ४ देखि १४ तारिखसम्म दुबइमा भएको ग्रान्ड प्रिक्समा सहभागी भएको थियो ।
खेलाडीमा प्रभा र नवराज तथा प्रशिक्षकमा विमला यो टोलीमा पनि दोहोरिएका हुन् । दुबइमा गरेको प्रदर्शनका आधारमा प्रभा र नवराजलाई पुनः टोलीमा समावेश गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया