काठमाडौँ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा समाज गौतमले बताए । अहिले एक सिफ्टमा भैरहेको छ, उनले भने, एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौं ।
निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरु थपिएको बताए । ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौं, उनले भने, बाहिर प्रयोगका लागि गैरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ ।
डा गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भैरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्याइसकेको बताए । अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ, उनले भने, अब पहिलेभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन् ।
वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाईमा खेप्ने गरिरहेको छ । शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भैरहेको निमित्त निर्देशक गौतमले बताए । हामीले कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौं, उनले भने, यसको नतिजा पनि चाँडै देखिनेछ ।
डा। गौतम एक साता अघि वीरको निमित्त निर्देशकको जिम्मेवारीमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म गौतमलाई वीरको निमित्त दिएका हुन् । यस अवधिमा पनि वीरमा नतिजा देखिने गरी सुधार गर्न मन्त्री पौडेलले भनेका थिए । यसैअनुसार सुधार अघि बढाइरहेको डा। गौतमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया