नारायणगढ ‘चितवन’ – स्वतन्त्रता सेनानी स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा ३५ जना अनाथ बालिकालाई भोजन गराइएको छ । प्रजातन्त्र दिवसको अवसरमा आज भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा रहेको श्रीरामजानकी आश्रमका ३५ जना बालिकालाई भोजन गराइएको हो ।
तिलक सापकोटा प्रतिष्ठान नेपाल गैँडाकोट–८ नवलपुरको आयोजनामा आश्रमका आश्रित बालिकाहरूलाई मिष्ठान्न भोजन खुवाइएको हो । सो अवसरमा स्व सापकोटाकी धर्मपत्नी दुर्गादेवी सापकोटा, छोरा विश्व सापकोटा, गैँडाकोटस्थित विजय सामुदायिक एफएमका अध्यक्ष त्रिलोचन सापकोटा, कालिका संस्कृत विद्यापीठका लेखा अधिकृत बेलबहादुर दराई र कमल कँडेललगायतको सहभागिता थियो ।
उनीहरूलाई आश्रमका बालिकाहरूले स्वस्ती वाचन गरी स्वागत गरेका थिए । प्रतिष्ठानले थुप्रै सामाजिक तथा परापकारी काम गर्दै आइरहेकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने स्व सापकोटाका छोरा विश्वले जानकारी दिए ।
शिक्षा, स्वास्थ्य, संस्कृतिलगायत क्षेत्रमा विशेष गरी प्रतिष्ठानले सहयोगकारी भूमिका निर्वाह गर्दै आएको उनले बताए । पिताले समाजका पु¥याएको योगदानलाई जीवन्त राख्नका लागि प्रतिष्ठानले सहयोगकारी भूमिका खेल्दै आएको उनले उल्लेख गरे ।
कालिका संस्कृत विद्यापीठका लेखा अधिकृत दराईले स्व सापकोटाले समाजका लागि दिएको योगदानको चर्चा गर्दै उनी समाजमा सकारात्मक रुपान्तरणका शिखर व्यक्तित्वका रूपमा रहेको स्मरण गरे ।
सादगी र सरल स्वभावका स्व सापकोटाले प्रजातन्त्र र स्वतन्त्रताको आन्दोलनका साथै त्यसका लागि आवश्यक पर्ने राजनीतिक र नागरिक सङ्गठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। आफ्नो गाउँ–ठाउँको सामाजिक र राजनीतिक चेतना विस्तारमा एक अभियन्ताका रूपमा परिचित स्व सापकोटाले सुरुमा बाग्लुङ र त्यसपछि नवलपरासी केन्द्रमा रहेर नेपाली कांग्रेसको राजनीतिसँगै सामाजिक विकास, सुधार र सामाजिक रुपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया