काँक्रेविहार ‘सुर्खेत’ – जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले रु २२ करोडभन्दा बढी आम्दानी गरेका छन् । जाजरकोट कृषि विकास कार्यालयका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले रु २२ करोड दुई लाख ७१ हजार पाँच सय आठ आम्दानी गरेका हुन् ।
जिल्लाबाट दुई हजार सात सय ५३ मेट्रिक टन सुन्तला अन्य जिल्ला खपत भएको कार्यालयका सूचना अधिकारी नवीनराज आचार्यले जानकारी दिए । जिल्लामा छ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आइएको छ । गत वर्षको तुलनामा किसानले बोटबाट मनग्य मूल्य पाएकाले बजारीकरणमा समस्या नपरेको उनले बताए ।
“यस वर्ष बोटबाट रु ५० देखि रु ८० प्रतिकिलो सुन्तला बिक्री भएको छ । किसानले सुरुमा रु ५० मा बिक्री गरेकामा अन्तिम समयसम्म प्रतिकिलो रु ८० सम्म मूल्य पाएका हुन्”, आचार्यले भने । उनका अनुसार जिल्लाको कुसे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिका, बारेकोट गाउँपालिकामा सुन्तला उत्पादन हुने गरेको छ ।
किसानको खेतबारीमा पुगेर मल प्रयोग, काँटछाँट तथा औषधि दिनेसम्मको प्राविधिक सहायता दिएर सहयोग गरिरहेको सूचना अधिकारी आचार्यले बताए ।
कुसे–५ दम्दालाका किसान रामबहादुर मल्लले पछिल्लो समय सुन्तलाखेतीबाट मनग्य आम्दानी हुनुका साथै बजारीकरणको समस्या नरहेको बताए । पहिले सुन्तलाका लागि बजारको समस्या भए पनि अहिले सुर्खेत, नेपालगञ्जबाट व्यापारी बारीमा पुग्ने खरिद गरेका उनको भनाइ छ ।
पहिले अन्नबाली लगाउने खेतबारीलाई किसानले आजभालि सुन्तला बारी बनाउन लागेका कुसे–५ दम्दालाकी जानुका मल्लले बताए । उनका अनुसार खेतीपातीभन्दा सुन्तलाबाट आम्दानी बढी हुने भएकाले यसतर्फ आकर्षित भएका हुन् ।
पछिल्लो समय जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय, पालिकाका कृषि शाखाले किसानका लागि प्राविधिक तथा यान्त्रिकीकरणमा सहयोग गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया