भक्तपुर – नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले आज भक्तपुर अस्पतालको अवलोकन गरेकी छन्। उनले भक्तपुर अस्पतालको प्रसूति कक्ष ‘गाइनो वार्ड’ को अवलोकन गरेकी हुन् ।
अवलोकनका क्रममा अधिराजकुमारी सोफीयाले प्रसूति सेवाबारे विस्तुत रूपमा जानकारी लिएकी थिइन्। उनले अस्पतालको प्रसूति कक्षमा रहेका सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था र उपचार विधिका बारेमा जानकारी दिइन् ।
प्रसूति कक्षमा भर्ना भएका नवजात शिशुलाई बोकेर उनले अस्पतालले दिएको सेवा प्रशंसनीय रहेको भन्दै खुसी व्यक्त गरिन् । यौन दुव्र्यवहार र हिंसामा परेका महिलाका बारेमा चासो लिँदै उनले हिंसा पीडित महिलाको व्यवस्थापन, पारिवारिक मिलन, सामाजिक पुनःस्थापनालगायत पक्षका बारेमा छलफल गरेकी थिइन् ।
अधिराजकुमारी सोफीयाले बिना पारिश्रमिक महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याइरहेको योगदानको प्रसंशा गर्दै मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवामा अस्पतालले दिँदै आएको सेवा र योगदानप्रति खुसी व्यक्त गरिन् ।
प्रसूति सेवामा भएको विकास र अस्पतालले प्रयोगमा ल्याएको आधुनिक प्रविधि र उपकरणका बारेमा जिज्ञासा राख्नुका साथै अधिराजकुमारी सोफीयाले बेलायत सरकारको सहयोगमा निर्माण भएको नयाँ भवन र स्तरोन्नति ‘रेक्टोफिटिङ्ग’ गरिएको भवनको समेत अवलोकन गरिन् ।
अवलोकनपछि छलफलका क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशका १३ वटै अस्पतालमा प्रसूति कक्षलाई आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचनाका लागि काम भइरहेको बताए। मन्त्रालयका स्वास्थ्य सचिव डा सुमित्रा गौतमले भक्तपुर अस्पताल मुलुकको नमूना अस्पताल बनाउन सफल भएको उल्लेख गर्दै प्रदेशका सबै अस्पतालको विकासमा मन्त्रालय योजनाबद्ध रूपमा लागिरहेको बताए ।
अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले भक्तपुर अस्पतालले भक्तपुरका मात्रै नभई पूर्वदेखिका बिरामीलाई सवा दिइरहेको बताउँदै अस्पतालले एमआरआई, सिटी स्क्यान, डायलोसिस मेशिन सञ्चालनमा ल्याउन पाए बिरामीले धेरै राहत पाउने बताए ।
अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टले सोफीयालाई अस्पतालले प्रजनन् स्वास्थ्यमा पुर्याउँदै आएको सेवा र अवस्थाका बारेमा जानकारी दिए। उनले यौन तथा लैङ्गिक हिंसामा परेका महिलाको स्वास्थ्य परीक्षण र उपचार गरी सुरक्षित घर ‘सेभहाउस’ मा पठाउने, मनोपरामर्श दिने, परिवार र समाजमा पुनःस्थापना गराउनेलगायत कार्य गर्दै आएको बताए ।
अधिराजकुमारी सोफीयले भक्तपुर अस्पतालको सेवाका बारेमा जानकारी लिँदै बिरामीसँग कुराकानी गरे । सोफीयासँगै बेलायत राजदूतावासका स्वास्थ्य सल्लाहकार डिएगो मोरोसो, दूतावासका समन्वयकर्ता दीपक कार्कीलगायत टोलीले अस्पतालको अवलोकन गरेको अस्पताल स्रोतले जनाएको छ ।
मंगलबार नेपाल आएकी अधिराजकुमारी सोफीय काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ‘इसिमोड’, पोखरालगायत स्थानमा भ्रमणमा जाने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया