काठमाडौँ- केही दिनयता बन्द रहेको अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआईडीको वेबसाइट पुनः सञ्चालनमा आएको छ । हालै सञ्चालनमा आएको उक्त वेबसाइटमा सानो सूचना सार्वजनिक गरिएको छ ।
उक्त सूचनामा यूएसएआईडीले फेब्रुअरी ७ अर्थात् आगामी शुक्रबारबाट संस्थाका अधिकांश कर्मचारीलाई रातिबाट बिदामा राखिने उल्लेख गरिएको छ । सूचनामा यूएसएआईडीले आवश्यक थोरै संख्यामा कर्मचारीलाई यथावत राखेर बाँकीलाई बिदामा राखिने जनाएको हो ।
“शुक्रबार, फेब्रुअरी ७, २०२५, राति ११ः५९ बजे मिसनका लागि महत्वपूर्ण कार्य, कोर नेतृत्व र विशेष कार्यक्रमको जिम्मेवारी पाएका निश्चित कर्मचारीबाहेक विश्वभर यूएसएआईडीले प्रत्यक्ष नियुक्त गरेका सबै कर्मचारीहरूलाई प्रशासनिक बिदामा राखिनेछ । काम गरिरहने अपेक्षा गरिएका आवश्यक कर्मचारीहरूलाई एजेन्सी नेतृत्वले बिहीबार, फेब्रुअरी ६, दिउँसो ३ बजे सम्ममा सूचना दिनेछ,” यूएसएआईडीको सूचनामा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडीको सहायता तीन महिनाका लागि रोक्न र समीक्षा तथा पुनरवलोकन गर्न आदेश गरेपछि यस्तो सूचना जारी गरिएको हो ।
उता ट्रम्प प्रशासनको चुस्तता विभागका प्रमुखको जिम्मेवारी पाएका इलोन मस्कले यूएसएआईडी एक ‘आपराधिक संस्था’ भएको भन्दै यसको ‘मृत्यु’ हुने बेला भएको टिप्पणी गरेका छन् ।
अमेरिकाको ४७ औँ राष्ट्रपतिका रुपमा शपथ ग्रहण गरेलगत्तै ट्रम्प वैदेशिक सहायताको विपक्षमा खडा भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया