काठमाडौँ– चिया बगानको हरियो प्राकृतिक सौन्दर्यलाई नियाल्न तपाईं झापा, फिक्कल र इलामसम्म पुग्नै पर्दैन । काठमाडौँबाट दुई घण्टामै पुग्न सकिने सिन्धुपाल्चोक भोटेचौरस्थित मेलम्ची नगरपालिका–२ मा रहेको ‘मिनी इलाम’मा तपाईंले चियान बगानको दृश्यलाई नियाल्न सक्नुहुन्छ ।
पुरानो जैसी गाउँ भनिएपनि हाल यो ठाउँ ज्योतिष गाउँको रुपमा चिनिन्छ । जहाँ ‘एभरेष्ट चिया बगान’का रुपमा फैलिएको रमणीय चिया बयानहरु छन् । जुन स्थानलाई सन् १९९५ मा त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक सोम गौचनले स्थापना गरेका हुन् ।
लामो दूरीको यात्रालाई झन्झट मानेर इलामको चिया बगानमा पुग्न नसकेकाहरु अहिले ‘मिनी इलाम’मा पुगेर रमाइरहेका देखिन्छन् । जुन चिया बगान अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समेत निकै लोकप्रिय पर्यटकीय स्थलको बनेको छ ।
काठमाडौँबाट ४० किलोमिटरको दुरीमा रहेको मिनी इलाममा पुग्न सार्वजनिक वा आफ्नै सवारी साधनमा सजिलै पुग्न सकिन्छ । पदयात्राका लागि समेत यो ठाउँमा पुग्नलाई निकै राम्रा गन्तव्यहरु भेटिन्छन् । काठमाडौँ साँखु, जहरसिंहपौवा र भोटेचौरहुँदै मिनी इलाम पुग्न सकिन्छ । यदि तपाईं सार्वजनिक सवारीमा जान चाहनुहुन्छ भने काठमाडौँ बौद्धबाट बस चढ्न सक्नुहुन्छ ।
आफ्नै सवारीमा हो भने चाबहिल, बौद्ध, जोरपाटी, साँखु हुँदै सालीनदी किनार छोडेर उकालो लाग्न सक्नुहुन्छ । १५/२० मिनेटमै जहरसिंहपौवा पुगेर बायाँतर्फ लागेपछि १० देखि १५ मिनेटमा चौकीभन्ज्याङ हुँदै तपाईं शंखरापुर पुग्नुहुन्छ । त्यहाँबाट करिब १० मिनेटमा भोटेचौरको दृश्य देख्न सकिन्छ भने भोटेचौर ज्योतिष गाउँबाट चिया बगानतिर लाग्नुपर्छ ।
त्यहाँ ‘एभरेष्ट चिया बगान’को हरियाली र सुन्दरताले तपाईंको सबै थकानलाई मेटाइदिन्छ । हरियाली दृश्य मात्र नभएर वरीपरीको पहाडको दृश्य र ग्रामीण परिवेशले समेत तपाईंको मन लोभिन्छ । यहाँबाट उत्तरका हिमाली शृंखलामा रहेका गणेश हिमाल, दोर्जेलाक्पा, जुगल, आमायाङ्ग्री, लाङटाङ हिमालको मनमोहक दृश्यहरु समेत अवलोकन गर्न सकिन्छ । तपाईं पैदल नै मिनी इलाम जान चाहनुहुन्छ भने सुन्दरीजलको उकालो बाटो भएर जान सक्नुहुन्छ ।
जुन यात्राकै क्रममा काठमाडौँको दृश्य समेत हेर्न सक्नुहुनेछ । उकालोमा वनजङ्गल र कलकल पानीको ध्वनी सुन्दै तपाईं यात्रा गर्नु पाउनुहुन्छ । सुन्दरमाईको दर्शन गरेर ठाडो उकालो हुँदै मूलखर्कतिर लागेपछि ओरालो लागेर नागमतीको किनारै किनार गएपछि हिलेभन्ज्याङ पुगिन्छ । त्यहाँबाट तीन किलोमिटर उकालो लागेपछि धाप ड्याममा पुगेर उत्तरतर्फ ओरालो लागेपछि तामाङगाउँ, गुरुङगाउँ र हैबुङहुँदै ज्योतिष गाउँ पुग्न सकिन्छ ।
त्यहाँबाट चिया बगानतिर लाग्न सकिन्छ । चिया बगानको छेवैमा पहाडको खोँच भएर सानो खोला समेत बगेको छ । मिनी इलाम घुमेर थकाइ मार्नका लागि हैबुङमा आराम गरी बस्न होटलहरु समेत खोलिएका छन् । जहाँ स्थानीय परिकारहरु समेत पाइन्छन् । शहरको कोलाहल र भीडलाई छिचोल्न चाहनुहुन्छ भने होटलहरुमा शान्त वातावरणको व्यवस्थापन गरिएको छ ।
हैबुङमा रहेको रेन्बो ट्राउट फार्म निकै लोकप्रिय छ । त्यसकारण मिनी इलाम तपाईंका लागि प्राकृतिक सौन्दर्यको अवलोकन मात्र नभएर शान्त वातावरणमा आराम गर्ने उपयुक्त थलो पनि बन्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया