मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेन वंशको निशानी ‘मकवानपुर गढी’

काठमाडौँ– मकवानपुरलाई स्मरण गर्ने बित्तिकै ऐतिहासिक थलो ‘मकवानपुर गढी’को नाम अग्रपंक्तिमा आउँछ । हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर–पूर्वमा रहेको मकवानपुर गढी सेन वंशका राजाहरुको निशानी र इतिहास हो ।

सेन वंशका राजाहरुले ‘मकवानपुर गढी’लाई नै आफ्नो राज्यको राजधानी बनाएका थिए । आफ्नो राज्यको सुरक्षाका निम्ति युद्ध गर्न निर्माण गरिएको स्थललाई गढीका रुपमा चिनिन्छ । जहाँका सेनाका हातहतियारहरु तैनाथ हुन्छन् ।

कुनै बेला स्वतन्त्र राज्यको रुपमा रहेको मकवानपुरमा सेन वंशका सात पुस्ताले शासन गरेका थिए । पृथ्वीनारायण शाहले नेपाल एकिकरणकै क्रममा वि.सं. १८१९ मा मकवानपुरको योे राजधानीमाथि हमला गर्ने समयमा त्यहाँका राजा दिग्बन्धन सेन थिए । त्यसपछि राजा दिग्बन्धन हरिहरपुर किल्ला पुगेका थिए । त्यहाँ पनि गोर्खाली फौजले हमला गरेर आफ्नो कब्जामा लिएका थिए ।

राजा मुकुन्द सेनले बनाएको गढीको अहिले भग्नावशेष मात्र छ । डाँडामा अवस्थित गढीको भग्नावशेष पर्खालहरुले घेरिएको छ । हरियाली जङ्गलले घेरिएको गढीबाट रमणीय डाँडाकाँडाहरु अवलोकन गर्न सकिन्छ । यदि तपाईं इतिहासमा रुची राख्नुहुन्छ भने तपाईंका लागि ‘मकवानपुर गढी’ अझ उपयुक्त थलो हुन सक्छ ।

मकवानपुर र सेन वंशको इतिहासलाई खोतलेर अध्ययनका निम्ति पनि यसको उत्खनन गर्न हुनुपर्ने आवाज बोकेर गढी मौन रुपमा अवस्थित छ । तपाईंले गढीको प्रवेशद्वारको भित्र वंश गोपालको मन्दिर समेत देख्न सक्नुहुन्छ । जहाँ मन्दिरभित्र कृष्णलाई फलामे साङ्लोले बाँधेर राखिएको छ ।

किंवदन्ती अनुसार भगवान् कृष्ण राति बाहिर जाने र बिहानमात्रै फर्कन्थे । एक दिन एक भक्तजनले भगवानको पाउभरी तोरीका फूल टाँसिएको देखेपछि पुजारीले चियोचर्चा गर्दा उक्त कुरा पत्ता लागेको थियो । त्यसकारण स्थानीयले भगवान् मन्दिर छाडेर जाँदा अनिष्ट होला भनेर बाँधेर राख्ने गरेका थिए ।

ऐतिहासिक एवम् पर्यटकीय स्थलमा ‘मकवानपुर गढी’मा सैयौं पर्यटकहरु पुग्ने गर्छन् । ऐतिहासिक तथ्यहरुलाई हेर्दा सेन वंशका प्रभावशाली विजेता राजा मणि मुकुन्द सेनको नामबाट यसको नाम रहन गएको मानिन्छ । मुकुन्दपुर, माकन्दपुर वा मुकुनपुरहुँदै अपभ्रंश भई मकवानपुर बनेको हो भन्ने विश्वास गरिन्छ ।

यद्यपि लेखक केदारप्रसाद न्यौपानेले आफ्नो पुस्तक ‘मकवानपुर परिचय’मा मुकुन्दसेन जन्मनुभन्दा पहिल्यै मकवानपुर नाम चलिसकेको उल्लेख गरेका छन् । उनका अनुसार मुकामपुर अपभ्रंश भएर मकवानपुर बनेको हो । काठमाडौंका राजा रत्न मल्ललाई सैनिक सहायता दिन सैनिक मुकाम राखेको कारण मुकामपुर भएको र त्यो विस्तारै अपभ्रंश भएर मकवानपुर बनेको उनले उल्लेख गरेका छन् । प्राचीन र मध्यकालमा काठमाडौं उपत्यका प्रवेश गर्ने स्थानमा रहेको यस गढीले आफैंमा महत्वपूर्ण स्थानमा आगटेको छ ।

करिब १३२ रोपनी क्षेत्रफलमा फैलिएको यस गढीको लम्बाइ उत्तर दक्षिण करिब ११५ मिटर र चौडाइ ३५ मिटर छ । समुद्र सतहबाट १०२५ मिटर रहेको गढीको उत्तरतिर उच्च पहाडी शृंखला महाभारत पर्वतमालाको चन्द्रागिरी खण्ड साथै तीभन्दा पनि उच्च हिमालहरु छन् ।

त्यस्तै, गढीको दक्षिणतिर चुरे पर्वतमाला र भित्री मधेसको समतल भूभाग हर्नामाडी अवस्थित रहेको छ । ऐतिहासिक तथा एक पर्यटकीय सम्भावना बोकेको गन्तव्य स्थान हुँदाहुँदै पनि यसको राज्य तहको नै उपेक्षा देखिन्छ । त्यहाँको वास्तुकला र पुरातत्व आफैंले एउटा इतिहासको कालखण्ड बोकेर बसेको छ ।

दरवारको भग्नावशेषमा रहेको कलात्मक खाडल, पर्खाल, किल्ला, प्रस्तर कलाले जोकोहीलाई भावुक बनाउँछ । शत्रुलाई आक्रमण गर्न निर्माण गरिएका फायरिङ वय होस् या पर्खालको संरचनाहरुले तपाईंलाई सेन वंशको इतिहासतिर पुर्‍याउँछ । जहाँ धर्म, संस्कृति, राज्य संरचना अनि सञ्चालनको समग्र प्रक्रियालाई भग्नावशेषहरुमा नियाल्न सकिन्छ ।

‘मकवानपुर गढी’मा जानलाई बल्खुबाट भाडाको सवारी साधन पाइन्छ । तपाईं आफ्नै साधन लिएर समेत जान सक्नुहुन्छ । त्यहाँबाट करिब चार घण्टाको जिपको यात्रामा कुलेखानी हुँदै हेटौंडामा पुग्न सकिन्छ । त्यहाँबाट सार्वजनिक बसमा करिब ४५ मिनेटमा गढी पुगिन्छ ।

गढीको यात्राको क्रममा हेटौंडास्थित बुद्ध चोक, गुम्बाडाँडा, सहिद स्मारक, कुस्माण्ड सरोवर लगायतका स्थानहरुमा समेत अवलोकन गर्न सकिन्छ । गढी नजिकै सामान्य खाजा पसल भएपनि हेटौंडा बजारमा तपाईंले सुविधा सम्पन्न होटेलहरु भेटाउन सक्नुहुन्छ । दुई दिनको यात्रामै तपाईंले गढीलगायतका हेटौंडालाई आरामले घुम्न पाउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?