काठमाडौँ- मौरिस हर्जोगको प्रसिद्ध पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ को नेपाली अनुवाद सकिएको छ । नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनी कोर्तभालले उक्त अनुवादको मस्यौदा फाइनप्रिन्टका सीईओ नीरज भारीलाई हस्तान्तरण गरेकी छन् ।
सन् १९५१ मा पहिलो पटक प्रकाशित ऐतिहासिक यात्रावृत्तान्त अन्नपूर्णले विश्वभरिका पाठकलाई मन्त्रमुग्ध पारेको छ । यो पुस्तक अन्नपूर्णको सफल आरोहणबारे हो, जुन विश्वकै पहिलो ८००० मिटर अग्लो शिखर आरोहण थियो।
यो पुस्तक दर्जनौं भाषामा अनूदित भई लाखौं प्रति बिक्री भइसकेको छ । यसले नेपाललाई विश्वभर पर्वतारोहण र साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा परिचित गराएको छ ।
तर अहिलेसम्म यो पुस्तक नेपाली भाषामा अनुवाद भएको थिएन । यस अनुवादको प्रकाशन नेपाली पाठकहरूका लागि एक महत्त्वपूर्ण उपलब्धि हुनेछ, जसले उनीहरूलाई यस अद्भूत सहासिक यात्रासँग जोड्ने अवसर दिने अपेक्षा गरिएको छ ।
नेपाली अनूदित संस्करण सन् २०२५ जुन ३ मा सार्वजनिक गरिनेछ, जुन दिन ठीक ७५ वर्षअघि मौरिस हर्जोग र लुइस लाचेनालले अन्नपूर्णको चुचुरोमा पाइला टेकेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया