मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ: सोनम ल्होछार

तामाङ समुदायमा विशेष महत्त्व बोकेको ‘साेनाम ल्होछार’ को सांस्कृतिक मान्यता कस्तो छ?

काठमाडौँ– तामाङ संस्कृति, भाषा तथा इतिहास अध्येता तथा लेखक रवीन्द्र तामाङको बानेश्वर मिलनचोकस्थित घरमा यतिबेला साेनाम ल्होछार रौनक चलिरहेको छ ।

घरमा आएका पाहुनालाई स्वागत, ल्होछार गेङ(रोटी), आलुम(पानी रोटी), खाप्से, तेमे(तरुल)आदि खानाका परिकारहरु तयारीमा परिवारका सदस्यहरु व्यस्त छन् ।

तामाङ भने घरमा आउने पाहुनाहरुसँग ढोगभेटसँगै, ल्होछारको शुभकामना आदानप्रदान, खाता लगाउनदेखि घरमा लुङ्दार र दज्र्यू फेर्नतिर व्यस्त छन् । घरको ल्होछार रौनक सकाएर टुँडिखेलको बृहत् ल्होछार सांस्कृतिक महोत्सवमा उपस्थित हुने उनको योजना छ ।

आज अध्यता तामाङको घरमा मात्र नभएर तामाङ समुदायको घर घरमा ल्होछार पर्वको रौनक शुरु भएको छ । यस वर्ष मञ्जुश्री संम्वत–२८६१ सोनाम ल्होछारमा डुक(गरुड) वर्षलाई बिदाइ तथा डुल(सर्प) वर्षको स्वागद गर्दै देशभरी मात्र नभएर विश्वभरी छरिएका तामाङ समुदायले नयाँ वर्ष आगमनलाई स्वागत गरेर हर्षोल्लासका साथ ल्होछार पर्व मनाउँदै छन् ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले विविध सांस्कृतिक कार्यक्रम तथा पारिवारिक जमघट गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार पर्वलाई उत्सवमय तरिकाले मनाउँदै आएका छन् ।

यस अवसरमा घर घरमा सरसफाई, धारा, कुवा, पँधेरो, बाटोघाटो सफा गर्ने, टाढाका आफन्तलाई बोलाउने, घरमा बुन्दै गरेको तानलाई पूरा गर्ने समेत गरिन्छ भने ल्होछारको दिन ठूलाबडाको हातबाट सेटो टिका लगाउने, आशिर्वाद लिने पनि गरिन्छ ।
तामाङ भाषामा ‘ल्हो’ले बाह्र ल्हो खोर अर्थात् बाह्र वर्षे चक्रलाई र ‘छार’ शब्दले ‘नयाँ’ भन्ने बुझाउँछ ।

यसले समुदायमा संम्वत, वर्ष, उमेरलाई समेत जनाउँछ । ल्होको बाह्र वर्षे चक्रको नाम विभिन्न जीवजन्तु तथा पंक्षीहरुको नामबाट नामाकरण गरिएको छ ।

जसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर बँदेल रहेका छन् । यसले तामाङ समुदायसँग प्रकृति र जीवजन्तुसँग सम्बन्ध र घनिष्टतालाई बुझाउने अध्यता तामाङले बताए ।

‘ल्होछारको सम्बन्ध हाम्रो आदिम कृषि प्रणाली र पञ्चतत्वसँग पनि नजिक छ’, उनी भन्छन्, ‘त्यसकारण हामी ल्होछारमा जल, प्रकृति, भूमि, पितृ, जीवजन्तु सबैलाई पुजेर नयाँ वर्षलाई स्वागत गरेर यस पर्वलाई मनाउँछौं । उनका अनुसार सबै अन्नबाली भित्राएपछि फुर्सदमा सबैसँग जमघट खुसीयाली मनाउन पनि यस पर्व मनाउने गरिएको पाइन्छ ।

यसरी मनाउँदा वर्षभरी नै कुनै बाधा, अड्चन र परिवारका सदस्यहरुलाई दुःख नहोस् भनेर प्रकृति, पितृ तथा भूमिलाई खुसी बनाउन पुजिन्छ । ल्होछार पर्वपछि प्राकृतिक रुपमा लामो दिन शुरु भयो है भन्ने संकेत पनि हो ।

तामाङ समुदायको इतिहास, संस्कृति, परम्परा, भाषा, जीवनशैली तथा परिवेशलाई बुझाउन ल्होछार पर्वको विशेष महत्व रहेको तामाङको भनाइ छ ।

तामाङ इतिहास र उत्पत्ति कथालाई खोतल्दा मञ्जुश्रीसँगै नेपाल आगमन भएको जातिका रुपमा इतिहास विद् तथा अध्यताहरुको निश्कर्ष देखिन्छ । यसको इतिहासलाई चीनसँग नै जोडिन्छ । त्यसकारण पनि तामाङ समुदायले मञ्जुश्री संम्वतलाई अनुसरण गरेर तिथि अनुसार ल्होछार पर्व मनाउँदै आएका छन् ।

ल्होछार वर्ष अनुसार समुदायमा शुभ, अशुभ साइत हेर्ने, संम्वत, महिना, दिन बार निर्धारण गर्ने, भविष्यको प्रभाव समेत हेरिन्छ । परम्परागत रुपमा मान्दै आएको सो समुदायको महान सांस्कृतिक पर्व समेत हो ।

ल्होछार पर्वलाई नेपालमा पञ्चायती शासनको अन्त्यसँगै बहुदलीय व्यवस्थापछि राज्यले राष्ट्रिय पर्वको रुपमा मान्यता प्रदान गरेको थियो । लामो समयको राज्यको बहिष्करणमा परेको समुदायले गुपचुप रुपमा भएपनि आफ्नो पर्वलाई सदिऔंदेखि निरन्तरता दिँदै आएको तामाङ सुनाउँछन् ।

वि.सं. २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा ल्हाेछार राष्ट्रिय पर्वको रुपमा सूचीकृत भएको थियो । यस वर्ष राष्ट्रपति भवन शिलतनिवासबाट नै विधिवत रुपमा तीन दिनसम्म मनाइने ल्होछार पर्वलाई राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार तामाङ मौलिक पहिरन लगाएर उद्घाटन गरेका थिए ।

समुदायले बुधबार बेलुका टुँडिखेलमा उत्सवमय रुपमा ल्होछार इभ समेत मनाएका छन् । आज भने समुदायले लामा, बोन्बो, ताम्बा झाँकीसहित शान्ति र्‍याली, शुभकामना आदानप्रदान, मौलिक खाना, पुस्तक प्रदर्शन तथा विविध मौलिक सांस्कृतिक कार्यक्रमका साथ ल्होछार पर्व मनाउँदै छन् ।

समुदायको मौलिक पर्वलाई राज्यले समेत अपनत्व दिँदै ल्होछार पर्व मनाउन पाउनु सिङ्गो तामाङहरुले गर्व, खुसी हर्षका रुपमा लिनुपर्ने तामाङको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?