काठमाडौँ– जिल्ला अदालत काठमाडौँको आदेशपछि आजबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘एक्टर’ को प्रदर्शन स्थगित गरिएको छ । यो फिल्म अब कहिले प्रदर्शनमा आउँछ भन्ने अझै टुङ्गो लागिसकेको छैन ।
फिल्मको टिकटका लागि मल्टिप्लेक्स हलमा अग्रिम बुकिङ खुला गरिएको थियो र केही दर्शकले अनलाइनबाट टिकट किनिसकेका थिए । हलवालाले ती दर्शकको टिकट पुनः फिर्ता गर्ने प्रक्रिया थालेका छन् ।
सोही नामसँग मिल्दोजुल्दो अर्को फिल्म ‘एक्टर’ का निर्माताले अदालतमा प्रदर्शन मिति रोक्न भन्दै मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा अदालतले तत्काल फिल्म प्रदर्शन नगर्न निर्देशन दिएको थियो । साथै अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
फिल्म रिलिजअघि व्यापक प्रचार थालेको प्रदीप खड्का अभिनित फिल्म ‘एक्टरः टेक वान’ रिलिजको संघारमा मुद्दा परेपछि फिल्म निर्माताहरुले यसको छिनोफानो छिटो लगाउन अनुरोध गरेका छन् । फिल्मकर्मीले जतिसक्दो चाँडो यो समस्याको हल गर्न अनुरोध गरेका छन् ।
फिल्म निर्माण भइसकेपछि रिलिजअघि प्रचारका क्रममा निर्माताको लाखौँ रुपैयाँ खर्च भइसकेको हुन्छ । यस्तो बेलामा अर्को पक्षले मुद्दा दर्ता गराएको भन्दै कतिपय फिल्म निर्माताले गुनासो गरेका छन् ।
वरिष्ठ अभिनेता हरिवंश आचार्यले रिलिजको एक दिनअघि प्रदर्शन रोक्नु भनेको मानसिक, आर्थिक रुपमा पीडादायी हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो धारणा व्यक्त गर्दै भन्छन्, ‘सबै विवादको समाधान वार्ताबाट भएको भए सिङ्गो फिल्म क्षेत्र र फिल्मकर्मीलाई राम्रो हुने थियो ।’
कतिपय फिल्मकर्मीले भने ‘एक्टर’ नाम राख्न दिइनु दोष नभएको बरु उस्तै नाममा फिल्म दर्ता गर्ने चलचित्र विकास बोर्डको दोष भएको बताएका छन् । विकास बोर्डले नाम दर्ता गर्दा नै उस्तै नाममा दर्ता गर्न नहुने उनीहरुको तर्क छ ।
अभिनेता दीपकराज गिरीले भने उस्तै नाम चाहिए पर्यायवाची शब्द खोज्नुपर्ने तर्क गरेका छन् । तर, अहिलेको अवस्थामा आफू ‘एक्टरः टेक वान’ को पक्षमा रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका छन्, ‘हरेक दिन चलचित्र बनाउन नयाँ निर्माता एयरपोर्टमा, फिल्म रिलिज चाहिँ कहाँ गर्ने हलमा हो कि कोर्टमा?’
यसअघि पनि उस्तै नामका कैयन् फिल्म निर्माण र प्रदर्शन भएका थिए । यसअघि मेरो हजुर र ए मेरो हजुर, भोले र जय भोले, डन र मिस्टर डन, अर्जुन र अर्जुन देव लगायतका फिल्म प्रदर्शनमा आएका थिए । नेपाली फिल्मको इतिहासमा यसरी शीर्षक मिलेका फिल्मको सूची लामै छ ।
चलचित्र ऐन २०२६ को नियमावली, नियम १७ को ‘क’मा भने कसैले पनि अन्य इजाजत प्राप्त गरेको फिल्मको नामसँग मिल्ने गरी सो फिल्म जाँच भएको मितिले दश वर्षसम्म अर्को फिल्म बनाउन नपाउने भनिएको छ । तर, चलचित्र विकास बोर्डले उस्तै नामका फिल्म पनि दर्ता गर्ने र फिल्म निर्माण गर्ने बाटो खोलिदिने गरेको छ ।
राजन भुसालको निर्देशन रहेको यो फिल्ममा प्रदीप खड्का, आना शर्मा, राजवल्लभ कोइराला, दिव्या रायमाझी, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारको अभिनय छ । थमनकुमार भण्डारीले निर्माण गरेको यो फिल्मलाई आकाश बराल र निर्देशक भुसालले लेखेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया