काठमाडौँ– सहिद दिवसको अवसरमा नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कला प्रदर्शनी शुरु गरेको छ ।
‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयमा केन्द्रित भएर मङ्गलवारबाट प्रतिष्ठान परिसरमा प्रदर्शनी शुरु गरिएको हो ।
प्रदर्शनीको उद्घाटन प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले गरेका हुन् ।
उनले देशका लागि विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै कलाकारले आफ्ना कलामार्फत सम्मान गरेको धारणा व्यक्त गरे ।
उनले भने, ‘हामीले हालसम्म प्राप्त गरेका कुराहरू जनतालाई बुझाउन सक्नुपर्दछ । यसमा कलाकारले आफ्ना सिर्जनामार्फत देश निर्माणमा सहिदको सपनालाई साकार पार्न लाग्नुपर्दछ ।’ घर्तीले समाज रुपान्तरणमा सहिदले देखाएको सपनालाई पूरा गर्न राजनीतिक नेतृत्व, कलाकार, आमनागरिकलगायत सबै लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अग्रज कलाकार मदन चित्रकारले कलाकारले सहिदका जीवनमा आधारित कलाकृति बनाउनुपर्ने र यस्ता कामलाई ग्यालरीमार्फत आममानिससम्म पुर्याउनुपर्नेमा जोड दिए ।
उनले सहिदका विविध विषयलाई कमिक्स, स्टोरी बुक, इलस्ट्रेसनमार्फत पनि समेट्नुपर्ने धारणा राखे । उनले भने, ‘कलामार्फत कलाकारले सहिदको योगदानलाई उतार्नु पर्दछ ।’
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले नेपालको संविधान २०७२ को मूल मर्मलाई आत्मसात् गर्दै परिवर्तनका लागि भएका देशभक्तिपूर्ण आन्दोलन, सङ्घर्ष, बलिदान, सहिदको उत्सर्ग र त्यागलाई कलाकारले कलामार्फत प्रस्तुत गरेको बताए ।
उनले भने, ‘सामाजिक रूपान्तरण, जागरण, चेतना, स्वाधीनता, माटो, लोकतन्त्र, वीरता, सहिदप्रतिको सम्मान, एकतालगायतका भाव एवं विषयवस्तुलाई समेटेर प्रदर्शनीको आयोजना गरिएको हो ।
सो प्रदर्शनीमा कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, देवेन्द्रकुुमार काफ्ले, पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा राई, अरुणा हिङमाङ, सङ्गी श्रेष्ठ, जुपिटर प्रधान, एस.सी. सुुमन, राजन काफ्ले, राखी कर्ण, सुरेम देशार, विवेक मुकारुङ, प्रकाश मानन्धर, एविना भडेलगायतका कलाकारका ५४ कलाकृति राखिएका छन् ।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरू, प्राज्ञसभा सदस्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतको संस्कृति शाखाका उपसचिव शिवराज रेग्मी, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया