मानव शरीरमा लाग्ने अनेक रोगमध्ये ज्वरो पनि एक हो । कतिपयले ज्वरो आउनुलाई सामान्य माने पनि यसले गम्भीर समस्या निम्ताउन सक्छ । भर्खर जन्मिएको नवजात शिशुदेखि वृद्धवृद्धालाई समेत ज्वरो आइरहन्छ ।
कतिलाई सामान्य ज्वरो आउँछ र सिटामोल खाएर निर्मूल हुन्छ तर कतिपयलाई भने हनहनी ज्वरो आएर अस्पताल पुर्याउनुपर्ने अवस्था सिर्जना हुन्छ । सामान्य ज्वरो मात्रै हो भनेर हेलचेक्राइँ भने गर्न नहुने चिकित्सकहरू बताउँछन् ।
ज्वरो कस्तो अवस्थामा आउँछ ?, अत्याधिक ज्वरो आउँदा प्राथमिक घरेलु उपचार कसरी गर्ने ?, ज्वरो आएको समयमा के खाने–के नखाने लगायतका विषयमा फिजिसियन डा. लोचन कार्कीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:
ज्वरो किन आउँछ र अचानक आएमा के गर्ने ?
ज्वरो आउने विभिन्न कारण हुन्छन् । डेंगु, पिनास, छातीको समस्या, टाइफाइड, स्क्रब टाइफस, भाइरल ज्वरो, कोभिडजस्ता रोगको प्रमुख लक्षण नै ज्वरो हुन्छ । ज्वरोसँगै रुघाखोकी, पहेँलो खकार आउँछ भने निमोनिया पनि हुनसक्छ । हनहनी ज्वरो आउने, आँखाको गेडा दुख्ने, जीउ दुख्ने, बान्ता हुने जस्ता पछिल्लो समय देखिएका लक्षण डेंगुका हुन सक्छन् । ज्वरो आउने बित्तिकै के कारणले आयो भनेर बुझ्नु जरुरी छ । ज्वरोको प्रारम्भिक उपचार भनेको सिटामोल खानु नै हो । त्यसपछि शरीरको तापक्रम नाप्ने जस्ता अन्य प्राथमिक उपचार गर्न सकिन्छ ।
ज्वरो आउँदा हामीले के–कस्ता घरेलु उपचार अपनाउनुपर्छ ? के उच्च ज्वरोमा प्राथमिक उपचार गर्न सकिन्छ ?
सिटामोलको सेवनपछि पनि ज्वरो १०४ डिग्रीभन्दा माथि आइरहेको छ भने घरेलु उपचारको रुपमा पानीपट्टी गर्न सकिन्छ । तर यसको तरिका जान्न भने आवश्यक छ । पानीपट्टी टाउकोमा लगाएर मात्र हुँदैन । टाउको देखि काखी, खुट्टा र हातमा पनि पानीपट्टी गर्नुपर्छ । बिरामीलाई गुम्म परेको ठाउँमा राख्नुहुँदैन । कोठामा झ्याल वा भेन्टिलेसन हुनुपर्छ । जसले शरीरको तापक्रम घट्न मद्दत गर्छ । बाक्लो मोटो सिरक ओढाउन हुँदैन । पातलो सिरक वा ब्ल्याङ्केट ओढाउनुपर्छ ।
हामी नेपालीहरु प्रायः जुनसुकै रोग लागोस्, औषधि सेवन गर्न भने सिटामोलबाट नै शुरु गर्छौं । के सिटामोलको प्रयोग सही रुपमा भइरहेको छ ?
ज्वरो नाप्दा १०० भन्दा माथि छ भने डाक्टरको सल्लाह बिना पनि सिटामोल खान सकिन्छ । अन्य औषधिको तुलनामा यसको साइड इफेक्ट कम हुने हुँदा यो औषधि सहजै सेवन गर्न मिल्छ । तर अन्य एन्टिबायोटिक औषधि भने सेवन गर्नुअघि परामर्श लिनुपर्छ । सिटामोल खाएर मात्र ज्वरो निको हुन्छ भन्ने हुँदैन । यसको कारण के हो भनेर पत्ता लगाउनुपर्छ ।
ज्वरो आएको समयमा सिटामोलको सेवन कत्तिको उचित हो त?
सिटामोल कति मात्रामा खाने भन्ने कुरा व्यक्तिको शरीरमा निर्भर रहन्छ । ६० देखि ७० किलो तौल भएका व्यक्तिले एकपटकमा ५०० मिलिग्रामको डेढदेखि दुई चक्की खान सकिन्छ । त्यहाँभन्दा बढी तौल भएका व्यक्तिलाई भने दुई चक्की आवश्यक हुन्छ । ज्वरो आइरहेको छ भने ६ वा ८ घण्टाको अन्तरमा सिटामोल खान सकिन्छ । ज्वरो क्रमशः घट्दै गएमा यसको सेवन रोक्न सकिन्छ ।
बालबालिकाहरुको हकमा सिटामोल कति मात्रामा खुवाउने ?
यदि बच्चालाई ज्वरो आएको छ र एक महिनाभन्दा कम उमेरको छ भने प्रतिकेजी वजनको १० देखि १५ मिलीग्राम पारासिटामोल दिन सकिन्छ । जुन ४ देखि ६ घण्टाको फरकमा दिनुपर्छ । १२ वर्षसम्मका बच्चालाई ६ देखि ८ घण्टाको अन्तरमा सोही मात्रामा दिनुपर्छ ।
अन्य रोगहरुको औषधि खाइरहेका व्यकितहरुले पनि सिटामोल खान मिल्छ ?
सिटामोलको साइड इफेक्ट कम हुन्छ । तर पनि आफ्नै ओभरडोज पनि हुन्छ । लिभरका बिरामीले सिटामोल खानुहुँदैन । खानै परेमा दिनमा ६ ग्रामभन्दा कम खानुपर्छ । अन्य रोगका बिरामीहरुले भने यसलाई खान सुरक्षित मानिन्छ ।
ज्वरो आएको समयमा के–के खानेकुरा बार्नुपर्छ ?
ज्वरो आउँदा पूरा शरीर नै कमजोर हुन्छ । पाचनप्रणाली पनि कमजोर हुने हुँदा पच्न समय लाग्ने खानेकुरा पचाउन कठिन हुन्छ । त्यसैले सुपाच्य खानेकुरा खानुपर्छ । जाउलो, खिचडी, सुप जस्ता झोलिलो र तागतिलो खानेकुरा खानुपर्छ । माछामासु, अण्डा, गेडागुडी जस्ता पच्न कठिन हुने खानेकुरा सकेसम्म नखाएको नै राम्रो हुन्छ । त्यस्तै, चिल्लोपिरो खानेकुरा खानुहुँदैन । खानेकुराबाट नै ज्वरो नियन्त्रण हुन्छ भन्ने हुँदैन । झोलिलो खानेकुरालाई प्राथमिकता दिने र पचाउन सकिने खानेकुराले शरीरलाई ज्वरो आएको समयमा शक्ति प्रदान गर्छ । ज्वरो नियन्त्रण गर्न प्रमुख भूमिका सिटामोलकै हुन्छ ।
कस्तो अवस्थामा अस्पताल जाने ?
शरीरमा ९८ दशमलव ६ डिग्री सेल्सियस फरेनहाइटसम्म सामान्य तापक्रम मानिन्छ । त्यसभन्दा माथि छ भने ज्वरो आएको भन्ने बुझिन्छ । यद्यपि रातको समयमा भने ९९ डिग्री फरेनहाइटलाई पनि सामान्य मान्न सकिन्छ । १०३ डिग्री फरेनहाइटभन्दा बढी तापक्रम भए त्यसलाई उच्च ज्वरो मानिन्छ ।
बिरामीमा ज्वरोसँगै सास फेर्न कठिन भइरहेको छ, लगातार बान्ता, झाडापखाला आइरहेको छ, हिँडडुल गर्न सकिरहेको छैन, खान सकिरहेको छैन र रक्तचाप घटिरहेको छ भने तुरुन्तै अस्पताल जानुपर्छ । औषधि खाँदा र पानीपट्टी लगाउँदा पनि ज्वरो घटेन भने अस्पताल जानुपर्ने हुन्छ । उच्च ज्वरो आउँदा घरमै राखिराख्यो भने अन्य जोखिम पनि आउन सक्छ । अनियन्त्रित ज्वरो आइरहेको छ भने कहिलेकाहीँ सुई पनि दिनुपर्ने हुनसक्छ । त्यसको कारण पत्ता लगाउनुपर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया